
काठमाण्डु, १५ भदौ –एकीकृत माओवादी सहायक संगठन वाइसीएलको अध्यक्ष पुन: गणेशमान पुन: हुने भएका छन् ।
स्रोतका अनुसार काठमाडौँमा शनिबारबाट सुरु एकताको प्रथम अधिवेशनबाट पुनकै नेतृत्वलाई निरन्तरता दिनेबारे शीर्षतहमा सहमति भइसकेको छ । आसन्न संविधानसभा निर्वाचनमा वाइसीएलको प्रभावकारी परिचालन गर्ने माओवादीले यसअघि नै बताइसकेको छ । पुन वाइसीएलको जिम्मेवारीमा आउनुअघि पूर्वलडाकुको नवलपरासी झ्यालटुङडाँडास्थित चौथो डिभिजन कमाण्डर थिए । ‘अध्यक्षमा गणेशमान पुनकै निरन्तरता हुन्छ’, वाइसीएल केन्द्रीय सदस्य नवराज ढुंगानाले भने, ‘उहाँको विकल्पमा खडा हुने अहिलेसम्म कोही देखिएको छैन ।’
अध्यक्ष पुनले भने आफू पुन: नेतृत्वमा आउने/नआउनेबारे सार्वभौम महाधिवेशन प्रतिनिधिले निर्णय गर्ने बताए । आफू व्यक्तिगत रुपमा पुन: नेतृत्व लिने वा छाड्ने मध्ये दुवै विकल्पका लागि तयार रहेको उनले बताए । ‘मेरो व्यक्तिगत चाहनाले हुने कुरा होइन’, पुनले भने, ‘पार्टीले फेरि जिम्मा दियो भने पछि हट्ने कुरा आउँदैन ।’ वाइसीएल उपत्यका इन्चार्ज रामप्रसाद सापकोटा ‘दिपशीखा’ले महाधिवेशनबाट वाइसीएल बहुपदीय प्रणालीमा जाने जानकारी दिए । महाधिवेशनले एमाले युथफोर्सलाई काउण्टर गर्ने गरी आक्रामक नीति बनाउने बुझिएको छ ।
सापकोटाले पछिल्लो समय देखिएको अस्तव्यस्तताको अवस्था हटाउने गरी सापेक्षित केन्द्रिकरण गर्न लागिएको बताए । ‘सामूहिक बसाई हटाइएपछि देखिएको अस्तव्यस्तता हटाउन सापेक्षित केन्द्रिकरणको कार्यक्रम ल्याउँछौं’, उनले भने, ‘आवश्यकताअनुसार समूहमा बस्न र विकेन्द्रत हुन सकिन्छ ।’
उनले हेटौंडा महाधिवेशनको उत्पादन कार्यदिशा कार्यान्वयनका लागि देशभर दर्जनौंको संख्यामा उत्पादन ब्रिगेड घोषणा गर्ने बताए ।
वाइसीएलको भावी योजना राष्ट्र निर्माण, समृद्धि र विकास भएको दाबी उनको छ । त्यसका साथै मुल्यवृद्धि, कालोबजारी र गुण्डागर्दी नियन्त्रणमा पनि आफूहरु सक्रिय हुने जानकारी सापकोटाले दिए । तीन दिनसम्म गतेसम्म चल्ने अधिवेशनले एक सय ५१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने बताइएको छ ।