काठमाण्डु, १४ भदौ– एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैद्य माओवादीले आन्दोलनका कार्यक्रम घोषणा गरे पनि सहमतिमा आउने दावी गरेका छन् । शुक्रबार काठमाण्डुको बौद्धमा भएको कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आन्दोलनबाट उल्टै घाटा हुने भएकोले वैद्य माओवादीले आन्दोलन फिर्ता लिने विश्वास व्यक्त गरे ।
पहिचान सहितको संघीयताको मुद्दामा काँग्रेस, एमाले लगायतका दलहरु विपक्षमा रहे पनि अन्तिममा उनीहरुले पनि यसलाई स्वीकार्ने प्रचण्डको भनाई छ । ‘सबैभन्दा पहिले हामीले संविधानसभा चुनाव, गणतन्त्र, संघीयता जस्ता कुरा गर्दा उनीहरु मान्दैनथे, तर अहिले यसलाई स्वीकारेका छन् । त्यसैले जातीय पहिचान सहितको संघीयतालाई पनि उनीहरुले अन्तिममा स्वीकार्ने छन्,’ प्रचण्डले भने ।
जातिय पहिचान सहितको संघीयताले कुनै जात विशेषलाई मात्र नभई सबै उत्पीडित क्षेत्र, वर्ग, समुदायलाई अधिकार सम्पन्न गराउने उनले स्पष्ट पारे । उत्पीडित जातीलाई अधिकार सम्पन्न गराउन नचाहनेले जातीय पहिचानसहितको संघीयताको विरोध गरेको उनले आरोप लगाए ।
मधेशी समुदायको मुक्तिकालागि तराई मधेसमा पार्टीका गतिविधि सन्चालन भैरहेको उनले जानकारी दिए । ‘मधेसी जनतासँग मेरो लभ परेको कुरा मेरो व्यक्तिगत कुरा होइन मधेश आन्दोलन मुक्तिका लागि हो,’ अध्यक्ष प्रचण्डले भने, ‘मधेश आन्दोलनलाई पूर्णतामा पुर्याउनकालागि नै हाम्रो पार्टी मधेसमा केन्द्रीत छ ।’ सिंगो नेपाल राष्ट्रको जिम्मेवारी आफ्नो पार्टीको काँधमा आएको प्रसंग दोहोर्याउँदै अध्यक्ष प्रचण्डले राष्ट्रिय मुक्तिको आन्दोलनका निम्ति इमान्दार प्रयत्न गर्ने प्रतिबद्धता जनाए । आगामी चुनावमा बहुमत ल्याउने तयारीकासाथ लाग्न उनले कार्यकर्ताहरुलाई निर्देशन समेत दिए ।
राजनीतिक मुक्तिको आन्दोलनविना जाती, भाषाका, आन्दोलनको औचित्य नहुनेमा उनले जोड दिए । उनले भने, ‘राष्ट्रिय मुक्ति, जातीय मुक्ति र क्षेत्रीय मुक्ति आन्दोलनको नेतृत्वको सर्वहारा वर्गले मात्र गर्न सक्दछ, राजनीतिक मुक्तिको आन्दोलनविना जाति, भाषाको आन्दोलनको अर्थ छैन भन्ने कुरालाई हामी कम्युनिष्टले बुझ्नु जरुरी छ ।’
कार्यक्रममा नेता बाबुराम भट्टराईले आफूहरुले उठाएका संघीयताको मुद्दालाई अरु दलले गलत व्याख्या गरेर जनतामा भ्रम सिर्जना गर्न खोजिएको बताएका छन् । ‘हामीले उठाएका संघीयताका मुद्दामा जाती र जातीयतामा फोटो ल्याउन खोजियो भनेर भ्रम फैलाइएको छ,’ भट्टराईले स्पष्ट पार्दै भने, ‘जातीय आधारमा हामीले संघीयताका मुद्धा उठाएका होइनौं हामीले स्थानीेय थात थलोका आधारमा संघीयता बनाउनु पर्दछ भनेका हौं ।’ काँग्रेस, एमाले लगायतका दलले पहिचान सहितको संघीयता स्वीकार नगर्दा पहिलो संबिधानसभा विघटन भएको भट्टराईले बताए ।
कार्यक्रममा अर्का नेता नारायणकाजी श्रेष्ठले आन्तरिक राष्ट्रिय एकताका लागि संघीयता सहितको संबिधान निर्माण हुनु पर्नेमा जोड दिए । संघीयताबाट मात्रै आत्मनिर्णयको अधिकारको रक्षा हुने उनको ठहर छ । ‘हामीले संघीयतालाई जादु ठानेका छैनौं, संघीयतामा जाने वित्तिकै सबै कुरा सहज हुन्छ भन्ने होइन,’ नेता श्रेष्ठले भने ‘क्रमिक रुपमा सुधार हुँदै जनताको आत्मनिर्णयको अधिकार सुरक्षित हुन्छ ।’
कार्यक्रममा नेकपा–माओवादी परित्याग गरी कन्चन खनाल एकीकृत माओवादीमै प्रवेश गरेकी थिइन् । ‘नेकपा माओवादी भित्र भित्रै गोलचक्करमा फसेको छ । र क्रान्तिमा फर्कंदा मुलुक फेरी दुर्घटनामा फँस्न सक्ने हुन्छ । त्यसैले बैद्य नेतृत्वले मुलुकलाई निकास दिन नसक्ने निष्कर्ष सहित म एमाओवादीमा प्रवेश गरेको हुँ,’ उनले भनिन् ।