
वीरगन्ज, १४ भदौ– पर्सा सुपौली–९ की पार्वती चौधरीलाई बोक्सीको आरोपमा हत्या गर्ने मुख्य अभियुक्तलाई प्रहरीले भारतबाट पक्राउ गरेको छ । पार्वतीको हत्यामा संलग्न स्थानीय जगदीश चौधरीलाई नेपाल भारत सीमा क्षेत्रको धनौजीबाट पक्राउ गरिएको हो ।
उनलाई पक्रन नेपाल प्रहरीलाई भारतीय प्रहरीले सहयोग गरेका थिए । बोक्सी आरोपमा पार्वतीलाई कुटपीटपछि हत्या गरी उनी फरार भएका थिए । पार्वतीका श्रीमानले प्रहरीमा दिएको किटानी जाहेरी अनुसार जगदीश घटनाका मुख्य योजनाकार हुन् । प्रहरीले यसअघि उनकी श्रमतीसहित तीनजनालाई पक्राउ गरेको थियो ।
आफ्नी छोरीलाई बोक्सी लागेर बिरामी बनाएको आरोप लगाउँदै चौधरीसहितको समूहले गत साउन ३१ गते पार्वतीको हत्या गरेको थियो ।