सैनिक अधिकृत बनेका पूर्वलडाकु : कहाँ तोकियो कार्यक्षेत्र ?

काठमाण्डु टुडे २०७० भदौ १४ गते १४:५६ मा प्रकाशित

Ladaku-Commandarकाठमाण्डु, १४ भदौ– लडाकुबाट नेपाली सेनाको अधिकृत बनेका ७० जनाको कार्यक्षेत्र तोकिएको छ । समायोजनमा सबैभन्दा उपल्लो दर्जा महासेनानीको जिम्मेवारी पाउन लागेका यमबहादुर अधिकारीलाई काठमाण्डु जंगीअड्डास्थित विपत व्यवस्थापन कार्यालयमा जिम्मेवारी तोकिएको छ ।

अधिकारी पछि दोस्रो दर्जामा प्रस्तावित प्रमुख सेनानी बासुदेव घिमिरेलाई वन तथा पर्यावरण संरक्षण गर्ने गरी नवलपरासी पठाइएको छ । नवलपरासीको झ्याल्टुङ्डाँडास्थित तत्कालीन माओवादी लडाकुको चौथो डिभिजन मुख्यालय उनको कार्यक्षेत्र हो । समायोजन भन्दा पहिले पनि उनको कार्यक्षेत्र सोही डिभिजनमा थियो । प्युठान जन्मथलो भएका उनी हाल बसाई सरेर दाङ देउखुरीको सिसहनीया गाविसमा बस्दै आएका छन् ।

यसैगरी प्रमुख सेनानीकै दर्जामा रहने अर्का पूर्वलडाकु कमाण्डर पदमबहादुर तामाङलाई पनि अधिकारीसँगै जंगीअड्डा कार्यक्षेत्र तोकिएको छ ।

वरिष्ठतामा चौथो स्थानमा रहेका वीरेन्द्र बुढामगरको कार्यक्षेत्र भने सिन्धुली हो । सिन्धुलीस्थित तत्कालीन माओवादी लडाकुको दोस्रो डिभिजन मुख्यालयमा उनी रहने छन् । सेनानीको दर्जा पाउने बुढामगरको जिम्मेवारी पनि घिमिरेको जस्तै वन तथा पर्यावरण संरक्षण गर्नु हो । उनी रुकुमको खोलागाउँ निवासी हुन् ।

राम बहादुर लामा र उनकी श्रीमती विमला पन्त लामा दुबैजना काठमाडौंमा रहने छन् । राम बहादुरलाई जंगी अड्डास्थित विपत व्यवस्थापनमा र विमलालाई भद्रकालीस्थित राष्ट्र विकासमा कार्यक्षेत्र तोकिएको छ । राम बहादुरले सेनानी र विमलाले सह–सेनानीको दर्जा पाउने छन् । उनीहरुको घर काभ्रेको निसी गाविस हो । विमलाको माइत भने कात्तिके देउराली हो ।

समायोजनको ९ महिने तालिममा उत्कृष्ट ठहरिएकी सोलुखुम्बु कागेलकी विनाकुमारी बस्नेतको कार्यक्षेत्र पनि काठमाडौं नै हो । यसैगरी बासुदेव घिमिरेका सहोदर भाई माधव र रुकुमका गोपालसिंह बोहराको कार्यक्षेत्र पनि काठमाडौं नै तोकिएको छ ।

सेना समायोजनपछि अधिकृत तहको नौं महिने तालिम पूरा गरेका सबै ७० जनालाई यही भदौ १० गते उपसेनानी (लेफ्टिनेन्ट)को दर्ज्यानी चिन्ह प्रदान गरिएको थियो । तीन महिने तालिम पूरा गरेपछि उनीहरुलाई बढुवा गरेर पूर्वसहमतिअनुसारको दर्ज्यानी चिन्ह दिइने छ । त्यसपछि उनीहरु आ–आफ्नो कार्यक्षेत्रमा खटिने छन् । हाल सबैजना घर विदामा छन् ।

समायोजन रोजेका सबै पूर्वमाओवादी लडाकुहरु राष्ट्रिय विकास तथा सुरक्षा महानिर्देशनालय मातहत रहने छन् । महानिर्देशनालयको नेतृत्व उपरथीले गर्नेछन् । महानिर्देशनालय अन्तर्गत ‘राष्ट्र विकास’, ‘वन तथा पर्यावरण सुरक्षा’ र ‘विपत् व्यवस्थापन’ रहने भनिए पनि यसको ठोस संरचना बनिसकेको छैन, त्यसैले पूर्व माओवादी लडाकु कमाण्डरहरुको कार्यक्षेत्र हेरफेर पनि हुनसक्ने स्रोतले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us