अधिकारी दम्पत्तिको जीवन बचाउन भन्दै धर्ना

काठमाण्डु टुडे २०७० भदौ १४ गते ७:१३ मा प्रकाशित

काठमाण्डु, १४ भदौ -गोरखाको फुजेल गाविस ७ का गंगामाया र नन्दप्रसाद अधिकारीको जीवन रक्षाको माग गर्दै शुक्रबार बिभिन्न संघ संस्थाहरुले वीर अस्पताल अगाडि एक घण्टा धर्ना दिएका छन् । अधिकारी दम्पतिको मागअनुसार उनीहरुको छोरा कृष्णप्रसादको हत्यामा संलग्नलाई कारबाही गर्न पनि ति संघ संस्थाका प्रतिनिधिले माग गरेका छन् ।

धर्नामा द्वन्द्वपीडित टुहुरा समाज नेपाल, द्वन्द्वपीडित राष्ट्रिय समाज नेपाल, बेपत्ता परिवार राष्ट्रिय सञ्जाल नेपाल, बाँदरमुढे घटना पीडित सरोकार समिति, न्यायका लागि द्वन्द्वपीडित समाज नेपाल, द्वन्द्वपीडित समिति बर्दिया, सामाजिक न्याय समिति नेपाल, द्वन्द्वपीडित अपाङ्ग संघ दोलखा र नेपाल माओवादी पीडित संघका प्रतिनिधि सहभागी थिए ।

धर्नापछि न्यायका लागि द्वन्द्व पीडित समाज नेपालका अध्यक्ष जनकबहादुर रावतले अधिकारीको हत्यामा संलग्नलाई कानुनी दायरामा ल्याउन र अनशन बस्दै आएका आमाबुवाको जीवन रक्षा गर्न सरकारसँग माग गरे ।

गत पुसदेखि आन्दोलन गर्दै आएका मृतकका आमा गंगामाया र बुवा नन्दप्रसाद अधिकारीको स्वास्थ्यस्थिति कमजोर भएपछि यही भदौ ४ गतेदेखि वीर अस्पतालको सघन उपचार कक्षमा राखिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार नजिक अनसन बस्दै आएका अधिकारी दम्पतिलाई सरकारले साउन १६ गते वीर अस्पतालमा भर्ना गरेको थियो ।

२०६१ साल जेठ २४ गते तत्कालीन विद्रोही पक्षबाट कृष्णप्रसादको हत्या भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us