वाइसीएलले दौडायो प्रचण्डलाई

काठमाण्डु टुडे २०७० भदौ १४ गते ७:१५ मा प्रकाशित

Prachandकाठमाण्डु, १४ भदौ– त्रिपुरेश्वरमा शुक्रबार विहानैदेखि युवा युवतीहरुको चहलपहल निकै थियो । सेतो टिसर्ट लगाएका युवायुवतीहरुको उपस्थिति बाक्लै थियो । दशरथ रंगशालामा जोशिला युवायुवतीको भीड बढ्दै गयो । साइरन बजाउँदै गाडीहरुको लस्कर पनि त्रिपुरेश्वर चोकमा आइपुग्यो । गाडीबाट एमाओवादी अध्यक्ष प्रचण्ड रहेछन् । उनलाई सुरक्षाकर्मी र युवाहरुले घेरामा राखे । बुझ्दै जाँदा पूर्वप्रधानमन्त्री प्रचण्ड भ्रातृ संगठनको युवा दौड प्रतियोगितामा सहभागी हुन पो आएका रैछन् ।

हेर्दा हेर्दै प्रचण्ड पनि खेलाडीले लाउने सेतो टिसर्ट लगाएर युवाहरुको भीडमा मिसिए । उनले ००१ नम्बरको भेष्ट लगाएका थिए । प्रचण्डसँगै बर्षमान पुन अनन्त, लोकेन्द्र विष्ट पनि त्यस्तै सेतो भेष्ट लगाएर युवा दौडमा सहभागी भए । दशरथ रंगशालाभित्रबाट दौडिएरै प्रचण्डले दौडको उदघाटन गरे । त्यसपछि उनीहरु दशरथ रंगशालाको मुख्य गेटबाट शहिदगेटसम्म पुगेर फेरि दशरथ रंगशालातर्फ नै फर्के ।

तर प्रतियोगितामा सहभागी युवायुवतीहरुको दाैड भने केशरमहलसम्म पुगेर फेरि दशरथ रंगशालामा आएर सकिएको थियो । सो प्रतियोगितामा पुरुषतर्फ मान बहादुर थापा र महिलातर्फ मनमति विष्ट पहिलो भएका छन् । विजेताले नगद १० हजार पुरस्कार पाएका छन् ।

एकीकृत नेकपा माओवादीको भ्रातृ संगठन योङ कम्युनिष्ट लिग (वाइ.सी.एल)ले प्रथम राष्ट्रिय अधिवेसनको पूर्वसन्ध्यामा शुक्रबार विहान युवा दौड आयोजना गरेको थियो । वाइसिएल नेपालको एकताको प्रथम राष्ट्रिय अधिबेशनको उदघाटन शनिबार  काठमाडौंको बसन्तपुरमा हुदैछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us