राजनीतिक र आर्थिक क्रान्ति सँगसँगै

काठमाण्डु टुडे २०७० साउन २३ गते २:४३ मा प्रकाशित

रामबहादुर थापा बादल
हरेक दिन एक हजार पाँच सय युवाहरु बिदेश पलायन भइरहेका छन । पलायन भएका मध्ये केहिले बिदेशमा सीप सिकेर स्वदेशमा आई उद्यम पनि गरिरहेका छन । तर अधिकाँशको अवस्था दयनीय छ । मुस्ताङ र कर्णालीमा स्याउ कुहिरहेको हुन्छ तर हामी भारतको हिमाञ्चलमा स्याउ बोक्न पुग्छौ । इजरायल,अरव र भारत जहाँ सुकै कुल्ली मजदुरी गरिरहेका छौ । किनेर खाने,मागेर खाने र श्रम बिदेशमा फाल्ने नेपालीको बिशेषता बनिरहेको छ । भारतीय चामल खान्छौ,चीनको लुगा लगाउँछौ । हामी उपभोक्ता मात्रै भयौ । समाज व्यवसायिकरण हुनुको सट्टा उपभोक्ताकरण भइरहेको छ । हामीले श्रम निर्यात गरिरहेका छौ । बिदेशमा श्रम गरी कमाएर ल्याएको अलिकति रकम घर घडेरीमा खर्च गर्छौ ।
केहि ठाँउमा कृषिको व्यवसायिकरण र आधुनिकीकरणको प्रयास भए पनि आमरुपमा छैन । सरकार र राजनीतिक दलले कृषिको संरक्षण गर्ने नीति बनाउन सकेनन भने कृषिको बिकास धेरै अगाडि जान सक्दैन । नीति निर्माणमा कृषिको संरक्षण गर्नुको सट्टा तस्कर,कमिशनखोर र घुस्याहालाई संरक्षण गर्ने राजनेता रहेको संरचनामा चोरलाई होइन साधुलाई सुली चढाईन्छ । यस किसिमको नीति,निर्माता,राजनेता र राजनीति हुँदा जति सुकै मेहनत गरे पनि श्रमको मूल्य हुँदैन । उत्पादन,श्रम र साधनको संरक्षण गर्ने राजनीति,कानुन र संबिधान हामीलाई चाहिएको छ । सरकार र सदन जस्ता नीति निर्माणको तहमा जवसम्म किसानहरुको प्रतिनिधित्व सुनिश्चित हुदैन तवसम्म जतिसुकै हाड घोटेपनि मूल्य प्राप्त हुदैन ।
कृषि क्रान्तिका लागि निर्वाहमुखी कृषि प्रणालीले हुदैन । त्यो व्यवसायिक र औद्योगिकरण हुनुपर्छ । त्यसो भएमा त्यो समाज र मुलुक बिकसित हुन्छ । खानको निम्ति मात्रै व्यवसाय गरेर पुग्दैन । नाफा हुने गरी उत्पादन नगर्ने हो भने त्यो आदिम र सामन्ती हुन्छ । त्यसले देशको अर्थतन्त्रको बिकास गर्दैन । अर्थतन्त्रको बिकासका निम्ति कृषिलाई व्यवसायिककरण गर्नुपर्छ । व्यवसायिकरणको साथ–साथै हामीले औद्योगिकीकरण गर्न पनि जरुरी छ । माछा उत्पादन गरी माछा नै बेचेर हुदैन । त्यसबाट धेरै परिकार बनाउन सक्नुपर्छ । कृषिमा आधारित उद्योग खडा गर्न सक्नुपर्छ । त्यसबाट रोजगारी सिर्जना हुनुपर्छ । त्यसले देश बिकास गराउँछ । कृषिको औद्योगिकरण,व्यवसायिकरण र आधुनिकरण गर्न निरन्तर प्रविधिको बिकास र उन्नत बिउ खोज्नुपर्छ ।
बिश्वव्यापीकरण,उदारिकरण र लोकतन्त्रको नाममा भारत र चीनबाट खुला रुपमा कृषिजन्य उत्पादन र फलफूल आउन दिदा नेपालमा उत्पादन हुने उब्जनीले प्रतिस्पर्धा गर्न सक्दैनन । यस्तो बिषयको समाधान बिचार,दर्शन र प्रविधिमा खोजेर भेटिदैन,राजनीतिमा खोज्नुपर्छ । राजनीतिक शक्ति कसको हातमा छ ?देशको शासन सत्तामा कस्ता मानिस छन ? कृषि क्रान्ति गर्न,श्रमको संरक्षण गर्न राजनीतिक क्षेत्रमा परिवर्तन गर्नुपर्छ । हामी कृषि क्रान्ति होस,आर्थिक क्रान्ति होस भन्ने चाहन्छौ । कृषि क्रान्ति,औद्योगिक क्रान्ति र आर्थिक क्रान्तिलाई राजनीतिक क्रान्तिको अभिन्न अंगको रुपमा सँगसँगै लिएर जानुपर्छ । त्यसका लागि बिचारमा निरन्तर परिवर्तन,निरन्तर राजनीतिक र आर्थिक क्रान्ति गर्न जरुरी छ । त्यो किसानका पक्षमा हुनुपर्छ । (नेकपा–माओवादीका महासचिव रामबहादुर थापा बादलले कृषि सरोकार समाजको नबौ बार्षिकसभामा व्यक्त बिचारमा आधारित सम्पादक)

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us