जमलस्थित ज्योति भवनमा भीषण आगलागी

काठमाण्डु टुडे २०७० भदौ १४ गते ४:१० मा प्रकाशित

Jyoti-Bhawan-Jamalकाठमाण्डु, १४ भदौ– काठमाडौंको जमलस्थित नेपाल बैंक लिमिटेडको शाखामा शुक्रबार बिहान आगलागी हुँदा ठूलो क्षति भएको छ । आगलागीबाट बैंकका अधिकांश महत्वपूर्ण कागजात, फर्निचरलगायतका सामग्री जलेर नष्ट भएका छन् । बैंकको नगद लकर भने सुरक्षित रहेको बताइएको छ ।

जमलको कान्तिपथस्थित ज्योति भवनमा बैंकको शाखा कार्यालय छ । बिहान पौने आठ बजे भवनको दोस्रो तलाबाट आगलागी शुरु भएको थियो । बारुणयन्त्र, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ । आगो निभाउन काठमाडौँ, ललितपुर र भक्तपुरका बारुणयन्त्र तथा नेपाली सेना र नेपाल प्रहरीका खानेपानी ट्याङ्की प्रयोग गरिएको थियो ।

आगलागीको कारण भने खुलेको छैन । विद्युत सर्ट भएर आगो लागेको अनुमान छ । आगो लाग्नुको कारणबारे अनुसन्धान जारी रहेको र क्षतिको पूर्ण विवरण संकलनको काम भैरहेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us