एमाओवादी नेताले भने–चुनावमा ‘अन्तर्घात’को खतरा

काठमाण्डु टुडे २०७० भदौ १३ गते ११:०४ मा प्रकाशित

UCPNMकाठमाण्डु, १३ भदौ – एमाओवादी केन्द्रीय समिति बैठकमा सबैतिरबाट चुनाव जित्ने रिपोर्टिङ भएको छ । चुनावी हरेक जोड कोणमाथि छलफल गरिरहेका नेताहरुले एउटा गम्भीर कुरा उठाएका छन्, त्यो हो अन्तर्घातको प्रसंग । एमाओवादी नेताहरुले आफ्नो रिपोर्टिङमा पार्टीभित्र आगामी निर्वाचनमा अन्तर्घातको खतरा रहेको औंल्याएका छन् । उनीहरुले यस्तो खतरालाई बेलैमा समाधान गर्न नसके चुनावमा त्यसले नकारात्मक प्रभाव पार्ने चेतावनी नै दिएका छन् ।

एमाओवादीका एक केन्द्रीय सदस्यका अनुसार रिपोर्टिङका क्रममा नेताहरुले धेरैजसो ठाउँमा अन्तर्घात हुनसक्ने धारणा राखेका हुन् । गत संविधानसभा निर्वाचनमा पनि नदेखिने गरी अन्तर्घातको समस्या देखिएको स्मर गराउँदै ‘फिल्ड’मा पुगेर आएका  नेताहरुले यसपालि त्यो खतरा थप बढेको भन्दै पार्टी नेतृत्वलाई सचेत गराएका छन् । बैठकमा रिपोर्टिङका क्रममा नेताहरुले कतिपय ठाउँमा आफूले टिकट पाउनु पर्ने दाबी राख्ने र नपाए अर्को उम्मेदवारलाई सक्रिय सहयोग नगर्ने मनोविज्ञान देखिएको पनि जानकारी गराएका छन् ।

अझ् रमाइलो पाटो त के छ भने कतिपय ठाउँमा स्थानीय नेताहरुले कित त आफू उम्मेदार हुनुपर्ने कि त केन्द्रबाटै ठूलो नेता आउनुपर्ने भन्दै स्थानीयतहमा अन्तरविरोधको समस्या रहेको संकेत गरेका छन् । रिपोर्टिङका क्रममा नेताहरुले भनेका छन्–‘हामीले निर्वाचन जित्ने आधार छन् तर यसका लायि यो–यो काम पूरा गर्नैपर्छ ।’

ससर्त चुनाव जितिने कुरा अगाडि सारेर एमाओवादी नेताहरुले चुनावी मैदानमा आइलाग्ने जटिलता पनि देखाएका छन् । पार्टीका यसअघि नै कायम रहेका गुट उपगुटको प्रभाव अहिले पनि कायमै रहेको भन्दै त्यसले चुनावमा प्रतिकूल प्रभाव पार्ने उनीहरुको भनाइ छ । विगतका संविधानसभा चुनावमा पार्टीले धरै ठाउँमा निकै थोरै मत अन्तरले चुनाव हारेको भन्दै नेताहरुले त्यसमा अन्तविरोधले नै काम गरेको रिपोर्ट ल्याएका छन् ।

रिपोर्टिङबाट आएको अन्तर्घातको विषयलाई पार्टीका शीर्ष नेताहरुले गम्भीर रुपमा लिएको स्रोतको भनाइ छ । रिपोर्टिङअनुसार जिल्लाको वस्तुगत अवस्था हेरेर नेताहरुले उम्मेदवार चयन गर्ने छन् । त्यसका लागि पोष्टबहादुर बोगटीको संयोजकत्वमा ९ सदस्यीय उम्मेदवार छनौट समिति बनाइएको छ । अभियानमा गएका केन्द्रीय नेताहरुले हरेक निर्वाचन क्षेत्रबाट पाँचपाँच जनाको नाम केन्द्रमा सिफारिस गरेका छन् । अभियानबाट सिफारिस भएर आएकाहरुले आ–आफ्नो नाम उम्मेद्वारमा पार्नका लागि गृहकार्य समेत गरेका छन् । तर, माओवादीले दोस्रो चरणका अभियान सकेपछि मात्र उम्मेद्वारको नाम तय गर्ने बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us