निर्वाचन तालिका हेरफेर गर्न आयोग लचिलो

काठमाण्डु टुडे २०७० भदौ १३ गते १०:३९ मा प्रकाशित

NIL_KANTHA_UPRETI_20130627090821पोखरा, १३ भदौ– असन्तुष्ट दल सहमतिमा आउने निश्चित भए निर्बाचन कार्यतालिका सामान्य हेरफेर गर्न निर्वाचन आयोग तयार भएको छ ।

तर मंसिर चार गतेको चुनावमा भने कुनै प्रकारको सम्झौता नगर्ने आयोगको भनाइ छ । ‘मंसिर चारको चुनाव प्रभावित नहुने गरी केही विषयमा तलमाथि गर्न तयार छौं,’ प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले बिहीबार पोखरामा आयोजित एक कार्यक्रममा भने । उप्रेतीले दलहरुबीच सहमति जुटेमा असन्तुष्ट दलहरुका लागि केही समय दिन सकिने स्पष्ट पारे ।

अन्य मुलुकको दाँजोमा सबैभन्दा बढी लचिलो नेपालकै निर्वाचन आयोग भएको उनले जिकिर गरे । द्वन्द्व व्यवस्थापनका लागि आफूहरु लचिलो बन्नुपरेको उनको भनाइ थियो । निर्वाचन सामग्री तथा आर्थिक व्यवस्थापन क्षेत्रीय प्रशिक्षक कार्यक्रममा सहभागी हुन उप्रेती पोखरा पुगेका हुन् ।

यसैबीच निर्वाचन आयोगको सामग्री व्यवस्थापन तथा लेखासम्बन्धी क्षेत्रस्तरीय तालिमको ललितपुरको गोदावरीमा उद्घाटन गर्दै आयुक्त इला शर्माले जनताको अधिकार लेख्ने संविधानसभा निर्वाचन संसदीय निर्वाचनभन्दा अझै बढी महत्वपूर्ण भएको बताएकी छन् । उनले सामग्री व्यवस्थापन, त्यसको ढुवानी–पैठारीको तरिकादेखि निर्वाचन प्रयोजनमा हुने खर्च पारदर्शी, विधिसम्मत र दुरुस्त राख्न व्यवस्थापन कार्यमा जुटेका कर्मचारीलाई निर्देशन दिएकी छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us