
काठमाण्डु, १३ भदौ–चुनावी प्रक्रियाप्रति असन्तुष्ट नेकपा–माओवादी नेतृत्वको मोर्चाले राष्ट्रपति रामवरण यादवलाई गोलमेच सम्मेलनको वातावरण बनाइदिन आग्रह गरेको छ । विहीबार ज्ञापनपत्र बुझाउँदै मोर्चाले गोलमेच सम्मेलनकोलागि सहजीकरण गरिदिन आग्रह गरेको हो ।
ज्ञापनपत्र बुझाउन नेकपा–माओवादीका सचिव देव गुरुङ नेतृत्वको टोली शितल निवास पुगेको थियो । ‘राजनीतिक निकासको उत्तम विकल्प गोलमेच नै भएकोले त्यसको वातावरण बनाइदिन आग्रह गर्यौं,’ मोर्चामा आबद्ध क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मणि थापाले भने ।
जवाफमा राष्ट्रपति यादवले यसबारे सबै दलहरुसँग परामर्श गर्ने बताएका थिए ।
उच्चस्तरीय राजनीतिक समितिमा आबद्ध प्रमुख दलहरुले गोलमेच सम्मेलनको प्रस्ताव अस्वीकार गर्दै आएका छन् । आगामी चुनाव भाँड्ने उद्देश्यले माओवादीले गोलमेच सम्मेलनको कुरा उठाएको उनीहरुको बुझाई छ । माग पूरा गर्न प्रमुख दल तयार नभएपछि मोर्चाले आन्दोलनका कार्यक्रम सार्बजनिक गरिसकेको छ ।