
काठमाण्डु, १३ भदौ – एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा शक्तिशाली कम्युनिष्ट पार्टी बनाउने बताएका छन् । एकीकृत माओवादीकै नेतृत्वमा शक्तिशाली कम्युनिस्ट पार्टी निर्माण हुने उनको दाबी छ ।
विभिन्न दलहरुबाट एकीकृत माओवादीमा प्रवेशको लहरले नयाँ राष्ट्रिय एकता भइरहेको दाबीसमेत उनले गरे । ‘तराईदेखि हिमालसम्म, पूर्व मेचीदेखि पश्चिम कन्चनपुरसम्मका व्यक्तित्वहरुको प्रवेशले राष्ट्रिय एकताको संकेत गरेको छ,’ बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘त्यसको नेतृत्व एकीकृत माओवादीले गर्दैछ ।’
कार्यक्रममा एमाले गुल्मी जिल्लाका पुराना कम्युनिस्ट नेता पूर्णबहादुर रानासहितका नेता–कार्यकर्ता एकीकृत माओवादीमा प्रवेश गरेका थिए । त्यसैगरी कञ्चनपुर जिल्लाका शिवसेना नेपालमा आवद्ध झण्डै २ सय नेता तथा कार्यकर्ता एकीकृत माओवादी प्रवेश गरेको सो पार्टीले जनाएको छ ।