अधिकारी दम्पतिको अनशन तोडाउन सरकारले सकेन

काठमाण्डु टुडे २०७० भदौ १३ गते ४:४६ मा प्रकाशित

Adhikari-Coupleकाठमाण्डु, १३ भदौ–छोराको हत्यारामा संलग्नलाई कारबाहीको माग गर्दै आमरण अनशन बस्दै आएका गोरखा फुजेलका नन्दप्रसाद अधिकारी र गंगामाया अधिकारीलाई अनसन फिर्ता लिन सरकारले आग्रह गरेको छ । मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले अधिकारी दम्पतिलाई विहीबार विहान भेटेर अनशन फिर्ता लिन आग्रह गरेका हुन्  ।

वीर अस्पतालमा अनशनरत अधिकारी दम्पतिलाई भेटेर रेग्मीले छोरा कृष्णप्रसादको हत्यारामाथि कार्वाही गर्न सरकारले प्रकृया शुरु गरिसकेको जानकारी गराउँदै अनशन फिर्ता लिन आग्रह गरेका थिए । तर, अधिकारी दम्पत्तिले हत्यारालाई पक्राउ नगरेसम्म अनशन नतोड्ने अडान दोहोर्याएका थिए ।

बुधबार पनि उच्चस्तरीय राजनीतिक समितिका संयोजक समेत रहेका काँग्रेस सभापति सुशील कोइराला र एमाले अध्यक्ष झलनाथ खनालले पनि अनशन तोड्न गरेको आग्रह उनीहरुले अस्वीकार गरेका थिए ।

त्यसअघि गृहमन्त्री माधव घिमिरे, गृहसचिव नविन घिमिरेलगायतले पनि अधिकारी दम्पतिको अनसन तोडाउन प्रयास गरेका थिए । तर उनीहरुले छोरा कृष्णप्रसादको हत्यामा संलग्नलाई कारबाही नभएसम्म अनसन नतोड्ने बरु प्राण त्याग्ने जवाफ दिएका थिए ।

झण्डै एकमहिनादेखि वीर अस्पतालमा अनशन बस्दै आएका अधिकारी दम्पतीको स्वास्थ्यस्थिति नाजुक हुँदै गएपछि आइसीयुमा राखिएको छ । यसअघि बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास अघि अनसन बस्दै आएका उनीहरुलाई सुरक्षाकर्मीले बीर अस्पतालमा लगेर भर्ना गरेका थिए ।

अधिकारी हत्याबारे गोर्खालीसँग सोधपुछ

सशस्त्र युद्धमा मारिएका गोरखा फुजेल गाविस–७का कृष्णप्रसाद अधिकारीको हत्याबारे जिल्ला प्रशासन कार्यालय गोरखाले अनुसन्धान जारी राखेको छ । जिल्ला प्रशासन कार्यालय गोरखाले गाउँका प्रत्येक घरधुरीका मानिस झिकाएर घटनाबारे प्रारम्भिक जानकारी लिएको छ ।

अधिकारीको घरमा प्रहरी कर्मचारी खटाई थप अनुसन्धान गर्ने कार्य पनि भैरहेको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कार्कीले जानकारी दिए ।

फुजेल–७ बस्ने नन्दप्रसाद अधिकारीका छोरा कृष्णप्रसादको २०६१ जेठ २४ गते चितवनको रत्ननगर नगरपालिका–१ बकुलहर चोकमा शव फेला परेको थियो । उनका आमा गंगामाया अधिकारी र बुवा नन्दप्रसाद अधिकारीले तत्कालीन विद्रोही पक्षबाट छोराको हत्या भएको भन्दै हत्यामा संलग्नलाई कारबाही माग गर्दै अनशनमा बसेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us