चीनका हतियारले दिएको मृत्युदण्ड र गौरवगाथा

काठमाण्डु टुडे २०७० भदौ १२ गते १८:५९ मा प्रकाशित

 

hiraसिन्धुपाल्चोक तौथलीको प्राथमिक बिद्यालयका शिक्षक हिरालाल श्रेष्ठ र सल्यानको खलंगास्थित त्रिभुवन जनता माविका प्रधानाध्यापक स्वर्गीय मरिचमान सिंह श्रेष्ठ दुवैले चीनबाट हतियार ल्याएका हुन।

हिरालाललाई हतियार ल्याएकै आरोपमा चिनिया सुरक्षाकर्मीले पक्राउ गरी मृत्युदण्डको सजाय सुनाए भने मरिचमानले हतियार ल्याउँदा राष्ट्रिय स्वाभिमानको गाथा गाइयो । ०४६ साल अघि तत्कालीन प्रधानमन्त्री मरिचमानले चीनबाट हतियार ल्याएका थिए भने ०५२ सालदेखि नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धको वेला हिरालालले पनि चीनको स्वशासित क्षेत्र तिब्बतस्थित खासाबाट हतियार ल्याएका थिए ।

प्रधानाध्यापकको जागिर छोडेर पञ्चायतकालीन राजनीतिमा लागेका मरिचमान प्रधानमन्त्रीसम्म हुन पुगे भने हिरालाल आफनो बिचारलाई बचाएर बसेका छन । प्राथमिक शिक्षकको जागिर छोडेर जनयुद्धमा होमिएका हिरालाललाई मृत्युदण्डको घोषणा गरेपछि उनको परिवार मात्र होइन,उनको पार्टीका अध्यक्ष प्रचण्ड स्वंयम चिन्तित थिए । माओवादी शान्ति प्रक्रियामा आएपछि प्रचण्डको कुटनीतिक पहलपछि मृत्युदण्ड घोषणा गरिएका हिरालाललाई सो पार्टीका पोलिटव्यूरो सदस्य अग्नी सापकोटाले ल्हासाबाट काठमाण्डु ल्याएका थिए । ‘अग्नी सापकोटालाई ल्हासाको जेलमा देख्न पाउँदा मेरो आँखा रसाएका थिए’हिरालाल सम्झन्छन ।
साउन ३१ गते काठमाण्डुको थापाथलीमा निधन भएका मरिचमानको श्रद्धाञ्जली सभा गर्न गठित आयोजक समितिका संयोजक कमल चित्रकारका अनुसार चीनसँग बिशेष सम्बन्ध सुधार गरी नयाँ बानेश्वरस्थित अन्तराष्ट्रिय सम्मेलन केन्द्र (हालको संबिधानसभा भवन) निर्माण गरेका मरिचमानले राष्ट्रिय स्वाभिमानको परिचय दिन पहिलो पटक हतियार आयत गरेका थिए।नेपाल भारत पारवहन एवं बाणिज्य सन्धिमा भारतले समस्या उत्पन्न गराउँदा नेपाल भित्रको आपुर्ति र व्यापार व्यवस्थापनमा बिशेष योजना बनाएर कार्यान्वयन गरेका मरिचमानले बिदेशी कामदारलाई वर्क परमिट दिने व्यवस्था मिलाएको चित्रकारले बताए । marichman
चित्रकारका अनुसार मरिचमानले ०४५ सालमा नाकाबन्दी लगाइ तीन दिन भित्र घुँडा टेकाउने भारतीय रणनीतिलाई आवश्यक बस्तुको संचिति एवं संकलन गरी भारतका योजना असफल बनाएका थिए।भारतको १८ महिने नाकाबन्दीको सामना गरेका मरिचमान ०४६ सालको जनआन्दोलन चरमोत्कर्षमा पुगेका वेला पञ्चायत टिकाउन भारतीय बिदेश मन्त्रालयका उच्च अधिकारीले ल्याएको १६ बुँदे प्रस्तावलाई पनि मरिचमानले अस्वीकार गरेको चित्रकार स्मरण गर्छन । ‘त्यो प्रस्ताव स्वीकारेको भए राष्ट्रघात हुन्थ्यो’चित्रकार सम्झन्छन।हिरालालले मरिचमानको निधन भएपछि चिरशान्तिको कामना व्यक्त गरेका छन।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us