अधिकारी दम्पती आइसीयुमा

काठमाण्डु टुडे २०७० भदौ १२ गते ९:१२ मा प्रकाशित

Adhikari-Coupleकाठमाडौँ, १२ भदौ– सशस्त्र द्वन्द्वको क्रममा विद्रोही पक्षबाट मारिएका आफ्ना छोराको हत्यारालाई कारबाही गर्न माग गर्दै अनसनमा बस्दै आएका गोरखा फुजेलका गंगामाया अधिकारी र नन्दप्रसाद अधिकारीको स्वास्थ्यस्थिति नाजुक भएपछि आइसीयुमा राखिएको छ । विगत २८ दिनदेखि वीर अस्पतालमा अनशन बस्दै आएका अधिकारी दम्पतीको स्वास्थ्यस्थिति गम्भीर हुँदै गएपछि आइसीयुमा राखिएको हो ।

अधिकारी दम्पत्तिको स्वास्थ्य स्थिति बुझ्न बुधबार नेपाली काँग्रेसका सभापति सुशील कोइराला र नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल वीर अस्पताल पुगेका थिए । उनीहरु दुबैजनाले अनशन तोड्न गरेको आग्रह अधिकारी दम्पत्तिले अस्वीकार गरेका थिए । ‘उहाँहरुले (कोइराला र खनालले) न्याय दिलाउन आफूहरुले विशेष पहल गर्ने बताए पनि अधिकारीले मान्नु भएन,’ बीर अस्पताल आकस्मिक सेवा विभागका प्रमुख डा न्हुच्छेमान डंगोलले भने ।

यसअघि अधिकारी दम्पती बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी कार्यालय अघि अनसन बस्दै आएका थिए । स्वास्थ्यस्थिति नाजुक भएपछि उनीहरुलाई सुरक्षाकर्मीहरुले बीर अस्पतालमा लगेर भर्ना गरेका थिए । बीर अस्पतालमा पनि अनसन जारी राखेका उनीहरुको स्वास्थ्य अवस्था नाजुक छ । अधिकारी दम्पत्तिले छोराको हत्यामा संलग्नलाई कारबाही नभएसम्म अनसन नतोड्ने बरु प्राण त्याग्ने अडान राख्दै आएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us