चाडपर्वको मुखमा दार्चुलामा खाद्यान्न संकट

काठमाण्डु टुडे २०७० भदौ १२ गते ६:४५ मा प्रकाशित

दार्चुला, १२ भदौ– दार्चुला जिल्लाको खलङ्गा र आसपासका २४ गाविसमा खाद्यान्न संकट भएको छ । असार पहिलो साता र साउन अन्तिम साताको बाढी पहिरोले सडक भत्काएपछि खाद्यान्न ढुवानी हुन नसक्दा अभाव चर्किएको हो । गत असार २७ गतेदेखि जिल्लामा ढुवानी रोकिएकोले खाद्यान्न संकट भएको दार्चुला उद्योग वाणिज्य संघका अध्यक्ष मंगलसिंह ठगुन्नाले बताए ।

धाप, धोलाकोट, हितु, हिकिला, पिपलचैरी, हितु, धौलाकोट, सुन्सेरा, राप्ला र व्यास गाविसमा खाद्यान्न समस्या बढी देखिएको छ । लाली, उकु, डाँडाकोट, लुनैथान लगायतका गाविसका बासिन्दा पनि समस्यामा परेका छन् ।

धाप गाविस–४ जमिरपानीदेखि खलङ्गा–१ सम्मको १५ किलोमिटर सडक अझै सहज रूपमा सञ्चालन हुन सकेको छैन । बाढीले क्षति पुर्याएको नेपाल–भारत जोड्ने जोलीजिवा झोलुङ्गेपुल पनि मर्मत हुन सकेको छैन । ‘सरकारले दार्चुला जिल्लालाई सौतेनी व्यवहार गरेको छ,’ उद्योग वाणिज्य संघ दार्चुलाका अध्यक्ष ठगुन्नाले भने, ‘यहाँ खाद्यान्न संकट चर्किसक्यो ।’ उनले यसपालीको चाडपर्व खल्लो हुने चिन्ता व्यक्त गरे ।

१५ दिनभित्र यातायात सञ्चालन गर्ने सरकारी निकायका प्रतिनिधिले प्रतिबद्धता जनाए पनि पुनर्निर्माण र मर्मतमा ढिलाइ गरेको स्थानीयको गुनासो छ । ऐरिछिना र मेल्खेत नजिकको धामीगडामा पानी पर्नासाथ सडक अवरुद्ध हुने गरेको छ । ती क्षेत्रमा पर्खाल भत्कने र पहिरो खस्ने समस्या कायमै छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us