एमाओवादी निष्कर्षः आफू पहिलो, काँग्रेस दोस्रो र एमाले तेस्रो

काठमाण्डु टुडे २०७० भदौ ११ गते १४:२३ मा प्रकाशित

काठमाण्डु, ११ भदौ– एकीकृत नेकपा माओवादीले आसन्न संविधानसभा निर्वाचनमा आफ्नो पार्टी पहिलो, काँग्रेस दोस्रो, एमाले तेस्रो र क्षेत्रीय शक्तिका रुपमा रहेको मधेसी Perisdadaमोर्चा चौथो हुने दाबी गरेको छ ।
एक महिने जनसम्बन्ध अभियानको समीक्षा र चुनावी रणनीति तय गर्न मंगलबारबाट सुरु केन्द्रीय समिति बैठकमा रिपोर्टिङ गर्ने नेताहरुले यस्तो दाबी गरेका हुन् । माओवादीले गत १० साउनदेखि १० भदौसम्म देशभरका २ सय ४० वटै निर्वाचन क्षेत्रमा केन्द्रीय सदस्यको नेतृत्वमा जनसम्बन्ध सुदृढीकरण अभियान सञ्चालन गरेको थियो । बैठकको पहिलो दिन ८२ निर्वाचन क्षेत्रका अभियान टोली प्रमुखले रिपोर्टिङ प्रस्तुत गरेको प्रवक्ता अग्नि सापकोटाले बताए । उनका अनुसार सेती–महाकाली, भेरी –कर्णाली, थारुवान, मगरात र तमुवान राज्य समितिको रिपोर्टिङ सकिएको छ ।

सापकोटाले अधिकांश निर्वाचन क्षेत्रमा पार्टीको अवस्था राम्रो रहेको भन्ने रिपोर्ट आएको बताए । सापकोटाले एक महिने अभियानले पार्टीको आन्तरिक पंक्तिमा उत्साह देखिएको उल्लेख गरे । ‘८२ निर्वाचन क्षेत्रको रिपोर्ट प्रस्तुत भएको छ’, सापकोटाले काठमाण्डु टुडेसँग भने, ‘अधिकांश निर्वाचन क्षेत्रमा  जितिन्छ भन्ने साथीहरुको निष्कर्ष छ ।’
नेता लोकेन्द्र विष्टले अधिकांश टोलीले निर्वाचनमा एकीकृत माओवादी पहिलो, काँग्रेस दोस्रो, एमाले तेस्रो र मधेसी मोर्चा चौथो हुने निष्कर्ष पेश गरेको बताए । उनका अनुसार अभियान टोलीसमक्ष जनताले केही गुनासा समेत राखेका थिए ।

‘हामीप्रति जनताका केही गुनासा पनि छन्’, विष्टले भने, ‘तर ती असन्तुसष्टिका तहसम्म मात्रै छन्, जनताले हाम्रो विकल्प खोजेका छैनन् ।’ विष्टले संविधानसभा निर्वाचनमा देशभर मुख्य प्रतिस्पर्धा काँग्रेससँग हुने बताए । ‘विचार, राजनीति र संगठनका हिसाबले हामी र काँग्रेसबीच प्रतिस्पर्धा हुन्छ’, विष्टले भने, ‘केही ठाउँमा काँग्रेसभन्दा एमाले अगाडि छ ।’  बैठक बुधबार बिहान १० बजे पुनः बस्ने गरी स्थगित भएको माओवादीले जनाएको छ ।

बैठकबाट आएको सुझावका आधारमा चुनाव केन्द्रित अभियान सञ्चालन गर्ने प्रवक्ता सापकोटाले जानकारी दिए । यही बैठकले चुनावी घोषणापत्र, नारा र शीर्ष नेतृत्वले उम्मेद्वारी दिने निर्वाचन क्षेत्र निश्चित गरिने पनि उनले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us