चुनावी वातावरण अझै सङलिएन : महासचिव पोखरेल

काठमाण्डु टुडे २०७० भदौ ११ गते १०:०८ मा प्रकाशित

Ishwor-Pokhrelकाठमाण्डु, ११ भदौ – नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले आगामी मंसिर ४ गते हुने संविधानसभा निर्वाचनको वातावरण विग्रिएको टिप्पणी गरेका छन् । निर्वाचनमै सहभागी हुने दलले चुनाव हुन नदिन षडयन्त्र गरिरहेको उनको दावी छ ।

‘तोकिएकै मितिमा सम्पन्न गर्नुपर्ने भए पनि अझै चुनावी वातावरण सङ्लिन सकेको छैन,’ प्रेस चौतारी रेडियो नेपाल शाखाको प्रथम भेलाको मंगलबार उदघाटन गर्दै महासचिव पोख्रेलले भने, निर्वाचन आयोगले आवश्यक तयारी गरिरहे पनि निर्वाचनमै सहभागी हुने दलले चुनाव गर्न नदिन षडयन्त्र गरिरहेका छन् ।’ कुन दलले षडयन्त्र गरिरहेको हो भन्नेबारे भने उनले स्पष्ट खुलाएनन् ।

महासचिव पोख्रेलले विभिन्न समस्या र कठिनाइ भए पनि मंसिर चार गते नै चुनाव गरी देशलाई निकास दिनुपर्नेमा जोड दिए । उनले असन्तुष्ट दलसँग निश्चित समयभित्र छलफल गरी विवाद टुङ्ग्याउने प्रतिबद्धता पनि जनाए ।

प्रेस चौतारी रेडियो नेपाल शाखाको बन्दसत्रले ध्रुव सापकोटाको अध्यक्षतामा नौं सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । उपाध्यक्षमा सुधन ज्ञवाली, सचिवमा रत्नावली शर्मा र कोषाध्यक्षमा कौशल घिमिरे चयन भएका छन् । यसैगरी सदस्यमा शोभा भट्टराई, रीता तिमिल्सिना, वेदबहादुर कुँवर, विनिता चौधरी र सुरेन्द्र पौडेल सर्वसम्मत चयन भएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us