
काठमाण्डु, ११ भदौ – आगामी संविधानसभा निर्बाचन दुई चरणमा गराउन विज्ञहरुले सुझाव दिएका छन् । चुनावमा सुरक्षा चुनौती रहेकोले दुई चरणमा चुनाव हुनुपर्ने उनीहरुको धारणा छ ।
काठमाण्डुमा मंगलबार भएको अन्तरक्रियामा पूर्व गृहसचिव गोविन्द कुसुमले सुरक्षाको दृष्टिकोणले पनि दुई चरणमा निर्वाचन गर्न उपयुक्त हुने बताएका हुन् । ‘निर्वाचनको लागि स्वतन्त्र र स्वच्छ वातावरण तयार गर्नु सुरक्षा निकायको लागि चुनौति छ,’ कुसुमले भने, ‘दुई चरणमा चुनाव गराउँदा उपयुक्त हुन्छ ।’ अहिले पनि निर्वाचन बहिष्कार तथा अवरोधको खतरा रहेकोले समयमै यसको रणनीति बनाउन उनले सरकारलाई सुझाव दिए ।
कार्यक्रममा पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले निर्वाचन सुरक्षाको जिम्मेवारी सरकारको भएकाले सरकारले विशेष व्यवस्था गर्नुपर्ने बताए । अबको निर्वाचनले नै मुलुकलाई निकास दिने विश्वास व्यक्त गर्दै उनले धाँधलीरहित निर्वाचन सम्पन्न गर्न राजनीतिक दल विशेष गम्भीर हुनुपर्ने धारणा राखे ।
कार्यक्रममा नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक पुष्कर रेग्मी र सशस्त्र प्रहरीका नायव महानिरीक्षक शैलेन्द्र खनालले सुरक्षा व्यवस्थापनमा देखिएका सबै चुनौती सामना गर्न प्रहरी तयार रहेको भन्दै कानून हातमा लिएर चुनाव बिथोल्ने काम भए त्यसलाई असफल पार्ने दावी गरेका थिए ।