धनकुटामा निजामती विद्यालय खुल्यो

काठमाण्डु टुडे २०७० भदौ ११ गते ९:१६ मा प्रकाशित

धनकुटा, ११ भदौ– निजामती कर्मचारीका छोराछोरी पढ्नका लागि धनकुटामा निजामती विद्यालय सुरु भएको छ । सल्लेरी वन क्षेत्रभित्र निर्माण भएको धनकुटा उद्योग वाणिज्य संघको भवनलाई भाडामा लिएर विद्यालय सुरु गरिएको हो ।

निजामती कर्मचारीका छोराछोरीका लागि ६० प्रतिशत र सर्वसाधारण नागरिकका ४० प्रतिशत छोराछोरीलाई भर्ना गरेर विद्यालय चलाउने सरकारको नीति छ । विद्यालयमा कक्षा पाँचदेखि स्नातकसम्म पढाइ हुने बताइएको छ ।

निजामती विद्यालयलाई काठमाडौंको बुढानीलकण्ठ स्कूलको ढाँचामा सञ्चालन गर्ने उद्देश्य राखेर विद्यालय सञ्चालन गरिएको पूर्वाञ्चल क्षेत्रीय प्रशासक शंकरप्रसाद अधिकारीले जानकारी दिए । विद्यालय सञ्चालनका लागि हाल धनकुटा नगरपालिका–७ मा रहेको नेपाल ट्रस्टको १९४ रोपनी जग्गा ३५ वर्षका लागि भाडामा लिइसकेको छ । जग्गासँगै भौतिक संरचना निर्माणका लागि सरकारले एक करोड ९५ लाख रुपैयाँ विद्यालयको बैंक खातामा जम्मा गरिएको छ । सो रकमबाट विद्यालय भवन निर्माण प्रक्रिया यसै वर्षदेखि सुरु गर्ने प्रधानाध्यापक नारायणप्रसाद शर्माले बताए ।

आर्थिक बर्ष २०६६÷६७ को बजेट मन्तव्यमा तत्कालीन अर्थमन्त्री सुरेन्दप्रसाद पाण्डेले हरेक विकास क्षेत्रको क्षेत्रीय सदरमुकाममा सुविधासम्पन्न निजामती आवासीय विद्यालय बनाउने घोषणा गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us