मधेश स्वायत प्रदेश वा मधेश थरुहट प्रदेश : सदभावना

काठमाण्डु टुडे २०७० भदौ ११ गते ९:२० मा प्रकाशित

Sadvabanaकाठमाण्डु, ११ भदौ । सदभावना पार्टी (महतोपक्ष) तराई मधेशमा दुईवटा राज्य बनाउन लचिलो भएको छ । मधेसी जनताले चाहेमा समग्र तराई मधेसमा दुईवटा प्रदेश बनाउन सकिने उसको धारणा छ ।

‘हामी तराई मधेसमा एउटै प्रदेश हुनुपर्छ भन्नेमा छौं,’ सहहअध्यक्ष लक्ष्मणलाल कर्णले भने, ‘तर मधेसी जनताले चाहेमा दुईवटा बनाउन हामीलाई आपत्ति छैन ।’ एउटै प्रदेश बनाउँदा ‘समस्त मधेश स्वायत प्रदेश’ र दुईवटा बनाउने भए ‘मधेस थरुहट प्रदेश’ बनाउन उसले प्रस्ताव गरेको छ । ‘मधेसी र थरुहटबीच सहमति भएमा समग्र मधेस स्वायत्त प्रदेश हुन्छ । अन्यथा मधेस र थरुहट गरी दुई प्रदेश बनाउन सकिन्छ’ कर्णले स्पष्ट पारे ।

भदौ ८, ९ र १० गतेसम्म धनुषाको जनकपुरमा बसेको राष्ट्रिय कार्य समितिको विस्तारीत बैठकले गरेका निर्णयबारे जानकारी दिन मंगलबार जारी प्रेस विज्ञप्तिमा समस्त मधेश स्वायत प्रदेश वा मधेश थरुहट प्रदेशको पक्षमा जोड दिइएको छ ।

सदभावनाले उच्चस्तरीय राज्य पुनरसंरचना आयोगले प्रस्ताव गरेको हिमाल र पहाडमा ८ स्वायत प्रदेशलाई समर्थन गरेको जनाएको छ । निर्वाचन क्षेत्र पुनर्निर्धारण आयोगले पेश गरेको प्रतिवेदन भने अन्तरीम संविधान तथा मधेश आन्दोलनबाट प्राप्त अधिकार विपरीत भएको बैठकले ठहर गरेको छ ।

विदेशमा रहेका नेपालीहरुलाई पनि मतदान प्रकृयामा सहभागी गराउन माग गर्दै उसले मतदाता नामावली संकलनको म्याद फेरि थप्न माग गरेको छ । पहिचान सहितको संघियता प्राप्त गर्न र लोकतन्त्र तथा गणतन्त्र बिरोधीहरुलाई परास्त गर्न मंसिर चार गते नै चुनाव हुनुपर्नेमा सदभावनाको जोड छ ।

यसैगरी बैठकले भदौ १३ देखि २१ गतेसम्म संगठन सदृढिकरण गर्ने, २१ देखि २७ गतेसम्म हुने क्षेत्रिय सम्मेलनले चुनावकालागि उम्मेदवारहरुको सूची परिमार्जन गर्ने र २९ गतेदेखि हुने संसदीय समितिको बैठकमा अन्तिम स्वीकृतिकालागि सिफारीस गर्ने निर्णय गरेको छ ।

सदभावनाले आगामी चुनावलाई लक्षित गरी रक्षावाहिनी पनि गठन गरेको छ । पार्टीले निकालेको विज्ञप्तिमा भनिएको छ,‘विधान अनुरुप गाउँ वडादेखि लिएर प्रादेशिक स्तरका मधेश रक्षावाहिनीलाई सकृय बनाई स्वयंसेवक युवादस्ताको रुपमा अविलम्ब बिकास गरिने छ ।’

सदभावनाले दोस्रो संविधान सभा निर्वाचनको तिथि घोषणा गर्ने लगायतका १० सुत्रिय माग राखि बैसाख १९ गतेदेखि आमरण अनसनमा बसेका पार्टीका नेताहरुलाई सम्मान गरेको थियो । साथै जिल्ला स्तरमा अनसनमा बसेकालागि पनि सम्मान गर्ने बैठकले निर्णय गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us