दोलखाका २० युवा पक्राउ

काठमाण्डु टुडे २०७० भदौ ११ गते ५:५५ मा प्रकाशित

चरिकोट, ११ भदौ–मदिरा सेवन गरी झगडा गर्ने करिब २० जना युवालाई दोलखा प्रहरीले नियन्त्रणमा लिएको छ । दोलखा बजारस्थित एक होटलमा तोडफोड र झडप गरी सुरक्षामा खलल पुर्याएको भन्दै ति युवाहरुलाई नियन्त्रणमा लिइएको हो ।

मदिरा सेवन गरेका दुई युवाको समूहबीच मंगलबार विहान २ बजे झडप हुँदा दुई जना घाइतेसमेत भएका छन् । घाइतेमध्ये भीमेश्वर नगरपालिका १० का सुरेश गौतमको अवस्था गम्भीर  छ । टाउकामा चोट लागेका उनलाई जिल्लामा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाण्डु रिफर गरिएको छ ।

झडपका क्रममा स्थानीय भीमेश्वर होटलमा तोडफोड पनि भएको छ । ऐतिहासिक दोलखा बजारमा भैरव कुमारीको जात्रामा सहभागी युवाहरुबीच झडप भएको हो । झडपको कारण खुल्न नसकेको र घटनामा संलग्नलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको दोलखा प्रहरी प्रमुख सुरेशप्रसाद काफ्लेले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us