कर्मचारी कुटीएपछि चमेलियाको काम ठप्प

काठमाण्डु टुडे २०७० भदौ ११ गते ५:०५ मा प्रकाशित

दार्चुला, ११ भदौ – असुरक्षाको कारण देखाउँदै सदूरपश्चिमकै ठूलो चमेलिया जलविद्युत आयोजनाले काम बन्द गरेको छ । नेकपा–माओवादीका कार्यकर्ताले परामर्शदाता संस्थाका कर्मचारीलाई हातपात गरेपछि आयोजनाले काम रोकेको हो ।

दार्चुलाका माओवादी कार्यकर्ताले परामर्शदाता कम्पनी साह सिल्ट जेभीका साइड इन्चार्ज खिलानन्द ठाकुरलाई चन्दा नदिएको भन्दै हातपात गरेका थिए । असुरक्षा भएको भन्दै परामर्शदाता प्राविधिक कर्मचारी काम छाडेर काठमाडौँ हिँडेपछि सिभिल निर्माणतर्फको काम रोकिएको छ ।

माओवादी दार्चुलाका सहसेक्रेटरी नरेश साउदले भने हातपातमा आफ्ना कार्यकर्ता संलग्न नभएको दावी गरे । ‘चमेलिया आयोजनामा कर्मचारीबाट चन्दा संकलन गर्नेबारे पार्टी तहमा कुनै प्रकारको छलफल भएको छैन,’ साउदले भने ।

३० मेगावाट क्षमताको चमेलिया जलविद्युत आयोजना दार्चुलाको शिखर–४ बलाचमा निर्माणाधीन छ । यो सुदूरपश्चिममा निर्माण हुन लागेको सरकारी लगानीको सबैभन्दा ठूलो आयोजना हो । नेपाल विद्युत् प्राधिकरणद्वारा दक्षिण कोरियाको ऋण सहयोगमा चिनिया कम्पनी गेजुवा वाटर एन्ड पावर गुपले सो आयोजना निर्माणको जिम्मा पाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us