मन्त्रिपरिषद अध्यक्ष न्यूयोर्क, मुख्यसचिव तिब्बत जाँदै

काठमाण्डु टुडे २०७० भदौ १० गते १६:४६ मा प्रकाशित

khilrajlila

काठमाण्डु १० भदौ–संबिधानसभा निर्वाचन नजिकिदै गर्दा चुनावी मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मी र मुख्य सचिव लिलामणि पौडयाल बिदेश भ्रमण गर्दैछन ।
संयुक्त राष्ट्रसंघको ६८ औ महासभामा भाग लिन मन्त्रिपरिषदका अध्यक्ष रेग्मीको नेतृत्वमा एक प्रतिनिधिमण्डल आगामी असोज ५ देखि १४ गतेसम्म न्यूयोर्क जान लागेको हो । परराष्ट्रमन्त्री माधव घिमिरे,परराष्ट्रसचिव अर्जुनबहादुर थापासहित करीव एक दर्जन न्यूयोर्क जान लागेको हो । न्यूयोर्कमा अध्यक्ष रेग्मीले भारतीय प्रधानमन्त्री डा मनमोहन सिंह र चिनिया बिदेशमन्त्री वाङ यीसँग भेटवार्ता गर्दैछन भने अमेरिकी राष्ट्रपति बाराक ओबामाले दिने रात्रीभोजमा सहभागी हुनेछन ।
मुख्य सचिव लिलामणि पौडयाल भदौ २० देखि २४ सम्म चीनको स्वशासित क्षेत्र तिब्बतको सिगात्चेमा हुने आर्थिक तथा व्यापार मेलामा भाग लिन त्यसतर्फ जाँदैछन ।
जल तथा उर्जा आयोगका सचिव डा कृष्णचन्द्र पौडेल सेप्टेम्बर १० देखि १४ सम्म हुने अन्तराष्ट्रिय साझेदारी सम्बन्धी बिश्व सम्मेलनका लागि जापान जाँदैछन ।
कानुन मन्त्री हरिप्रसाद न्यौपाने नेतृत्वको प्रतिनिधिमण्डल भदौ २४ देखि २७ गते हुने एशियाली कानुन परामर्श दातृ संगठनको ५२ औ अधिवेशनमा भाग लिन नयाँ दिल्ली जाँदैछ ।
भदौ २५ देखि २७ सम्म हुने एशिया प्यासिफिक क्षेत्रीय पुनरावलोकन समूहको बैठकमा कानुन न्याय संबिधानसभा तथा संसदीय मामिला मन्त्रालयका सचिव भेषराज शर्माको नेतृत्वमा ६ सदस्यीय प्रतिनिधिमण्डल मलेसियाको राजधानी क्वालालामपुर जाँदैछ ।
अन्तराष्ट्रिय आणविक उर्जा ऐजेन्सीको आयोजनामा भदौ ३१ देखि असोज ४ गतेसम्म अष्ट्रियाको भियनामा हुने आइएइएको ५७ औ साधारणसभामा विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयका सचिव सोमलाल सुवेदीको नेतृत्वको एक टोली त्यस तर्फ जाँदैछ ।
भदौ २४ देखि २५ सम्म पेरिसमा हुने यूनेस्कोको कार्यक्रममा शिक्षा मन्त्रालयका सचिव नारायण गोपाल मलेगोले त्यस तर्फ जाँदैछन ।
संस्कृति,पर्यटन तथा नागरिक उडयन मन्त्री रामकुमार श्रेष्ठको नेतृत्वमा ६ सदस्यीय प्रतिनिधि मण्डल सेप्टेम्बर २४ देखि अक्टुवर ४ सम्म अन्तराष्ट्रिय नागरिक उडयन संगठन (आइकाव)को ३८ औ महासभामा भाग लिन त्यसतर्फ जाँदैछ ।
भदौ ११ देखि १६ सम्म रुसमा आयोजना हुने साँस्कृतिक क्षेत्रका संभावना सम्बन्धी कार्यक्रम भाग लिन संस्कृति मन्त्रालयका सचिव सुशिल घिमिरे र सहसचिव भरतमणि सुवेदी त्यसतर्फ जाँदैछन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us