‘देश विकास गर्न जलविद्युतको विकास अनिवार्य’

काठमाण्डु टुडे २०७० भदौ १० गते ८:३२ मा प्रकाशित

ram baranकाठमाण्डु, १० भदौ– राष्ट्रपति रामवरण यादवले नेपालको आर्थिक विकासकालागि जलविद्युतको विकासमा जोड दिनुपर्ने बताएका छन् । विश्वमै जलविद्युतको धनी देश भए पनि नेपाल परिचित नभएको भन्दै उनले जलविद्युतको धनी देशको रुपमा परिचित गराउन अब पहल गर्नुपर्नेमा जोड दिए ।

काठमाण्डुमा सोमबारबाट शुरु दुईदिने उर्जा सम्मेलनको उदघाटन गर्दै राष्ट्रपति यादवले भने, ‘जलविद्युत विकासमा लाग्ने यो उपयुक्तबेला हो ।’

कार्यक्रममा उर्जामन्त्री उमाकान्त झाले देश विकासको लागि जलविद्युतको विकासको विकल्प नभएकोले यस क्षेत्रका समस्या समधान गर्न सरकार क्रियाशील रहेको जानकारी दिए ।  यस्तै अर्थमन्त्री शंकरप्रसाद कोइरालाले जलविद्युत क्षेत्रमा विदेशी लगानी भित्रयाइने बताए ।

‘जलविद्युत विकासको गतिमा तिब्रता’ भन्ने नाराकासाथ शुरु भएको सम्मेलनमा आन्तरिक खपतका जलविद्युत आयोजना, आन्तरिक लगानीका आयोजना, विदेशी लगानी तथा विदेश निर्यातयोग्य आयोजना, विद्युत व्यापार संयन्त्र, प्रसारण प्रणाली, बजार ब्यवस्थापन लगायतका बिषयमा छलफल हुनेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us