नेपालको सेना समायोजन विश्वमै उदाहरणीय : रेग्मी

काठमाण्डु टुडे २०७० भदौ १० गते ६:२७ मा प्रकाशित

khilraj regmiकाठमाण्डु, १० भदौ– चुनावी मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले नेपालको सेना समायोजन प्रकृया विश्वकै लागि उदाहरणीय भएको बताएका छन् । ९ महिने तालिम पूरा गरेका ७० जना माओवादी पूर्वलडाकुहरुलाई सोमबार दर्ज्यानी चिन्ह वितरण समारोहलाई सम्बोधन गर्दै रेग्मीले यस्तो धारणा राखेका हुन् ।

‘नेपालको सेना समायोजन प्रकृया विश्वकैलागि उदाहरणीय छ,’ भक्तपुरको खरीपाटीस्थित सैनिक तालिम केन्द्रमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘राष्ट्र निर्माणमा अनुशासित र अझ जिम्मेवारी बोधका साथ अघि बढ्नुपर्छ ।’ उनले माओवादी पूर्वलडाकुले लिएको तालिमले नेपाली सेनाको व्यवसायीक दक्षतामा मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

समायोजन रोजेका ७० जना माओवादी पूर्वलडाकुलाई रेग्मी र प्रधानसेनापति गौरव शमसेर जबराले उपसेनानी (लेफ्टिनेन्ट)को दज्र्यानी चिन्ह वितरण गरेका थिए । थप तीन महिनाको व्रिजकोर्स पूरा गरेपछि उनीहरुलाई बढुवा गरिने छ । अधिकृत तहका ७० जनामध्ये यामबहादुर अधिकारीलाई महासेनानी, पदम लामा र बासुदेव घिमिरेलाई प्रमुख सेनानी तथा विरेन्द्र वि.एम. लगायतका १३ जनालाई सेनानीको दर्जा दिइने छ । साथै ३० जनालाई सहसेनानी र बाँकीलाई उपसेनानीको दर्जा दिने सेना समायोजन विशेष समिति र एकीकृत नेकपा माओवादीबीच यसअघि नै सहमति भैसकेको छ ।

यसअघि १३ सय ५२ जना पूर्वलडाकुले नेपाली सेनाको बिभिन्न पद सम्हालिसकेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us