ललितपुरमा दुई हजार टेलिफोन अवरुद्ध

काठमाण्डु टुडे २०७० भदौ १० गते ५:४० मा प्रकाशित

Telephoneललितपुर, १० भदौ–  ठेकेदारहरुको लापरबाहीका कारण ललितपुर जिल्लाका करिब दुई हजार टेलिफोन लाईन काटिएका छन् । सडक विस्तारको काममा जुटेका निर्माण कम्पनीहरूले नेपाल टेलिकमसँग समन्वय नै नगरी काम गर्दा ल्याण्डलाइन टेलिफोन अवरुद्ध भएका हुन् ।

‘सडक विस्तारको काममा जथाभावि खन्दा झण्डै दुई हजार टेलीफोन लाइन काटिएको गुनासो आएको छ,’ नेपाल टेलिकम जावलाखेलका प्राविधिक अधिकृत रामसुन्दर हमालले भने । ललितपुरको एकान्तकुना, कुमारीपाटी, सातदोबाटो, पाटन, मानभवनलगायत क्षेत्रमा जमिनमुनिका तार काटिएका र कुनैकुनै ठाउँमा सडक छेउका क्याबिनबक्ससमेत तोडिएको पाइएको छ । टेलिफोन अवरुद्ध हुँदा १७ वटा सरकारी कार्यालय, झण्डै दुई दर्जन गैरसरकारी संस्था, निजी व्यवसायी र सर्वसाधारण मर्कामा परेका छन् ।

‘चैतसम्म समन्वयमा काम भइरहेको थियो, कहीँ कतै तार छिनीहाले पनि एकदिनमै जडान गर्न सकिन्थ्यो । सरकारले वैशाखमा सडक विस्तार छिटो सक्न निर्देशन दिएपछि हतार-हतार काम गर्न थालेकाले समस्या बढ्यो,’ हमालले भने ।

तीन साता भित्र बिग्रिएका सम्पूर्ण टेलिफोन लाइन मर्मत गर्ने लक्ष्य सहित काम भैरहेको टेलीकमले जनाएको छ । ‘जनशक्ति अभावले केही समस्या छ, तर हामी दुईदेखि तीन सानाभित्र सबै मर्मत गरिसक्छौं,’ नेपाल टेलिकम जावलाखेलका कार्यालय प्रमुख इञ्जिनियर लक्ष्मण महर्जनले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us