काँग्रेसको जित नभएसम्म लोकतान्त्रिक संविधान असम्भव : पौडेल

काठमाण्डु टुडे २०७० भदौ १० गते ५:२३ मा प्रकाशित

Ramchandra-Paudelचितवन, १० भदौ–नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले आगामी संविधानसभा निर्वाचनका लागि योग्य उम्मेदवार छनोट गर्नुपर्ने बताएका छन् । विगतमा पार्टीको कतिपय कमजोरीका कारण हार व्यहोर्नुपरेको भन्दै उनले अब व्यक्तिभन्दा पार्टी ठूलो हो भनेर उम्मेदवार छनोट गर्न कार्यकर्तासँग आग्रह गरे ।

नेपाल ट्रेड युनियन काँग्रेस स्वतन्त्रको केन्द्रीय महाधिवेशनमा सहभागी हुन चितवन आएका पौडेलले सोमबार भरतपुरमा पार्टी कार्यकर्तासँगको भेटघाटमा यस्तो बताएका हुन् । उनले अहिलेको समय पार्टीको आन्तरिक विवादको समय नभएकाले एकढिक्का भएर चुनावी कार्यक्रममा सहभागी हुनसमेत कार्यकर्तालाई निर्देशन दिएका छन् ।

काँग्रेसको जित नभएसम्म देशमा लोकतान्त्रिक संविधान निर्माण नहुने चर्चा गर्दै उपसभापति पौडेलले यसतर्फ कार्यकर्ताको ध्यानआकर्षणसमेत गराएका थिए । अब कुनै पनि हालतमा तोकिएकै समयमा निर्वाचन हुने बताउँदै उनले गाउँमा आफ्ना गतिविधि बढाउन कार्यकर्तालाई निर्देशनसमेत दिए ।

चितवनमा काँग्रेसमा ठूलो विवाद रहेकाले नेताहरूले सो विषयमा समेत कार्यकर्तासँग छलफल गरिरहेका छन् । काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा, नेताहरू सुजाता कोइराला, विमलेन्द्र निधि, बद्री पाण्डे, अर्जुननरसिंह केसीलगायतले जिल्ला कार्यकर्तासँग भेटघाट जारी राखेको काँग्रेस चितवनका सचिव जीतनारायण श्रेष्ठले जानकारी दिनुभयो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us