कोसी अञ्चल अस्पतालका ३९ चिकित्सको राजीनामा

काठमाण्डु टुडे २०७० भदौ ९ गते १४:३० मा प्रकाशित

मोरङ ९ भदौ– प्रसुति गराउन अस्पताल पुगेकी एक महिलाको मृत्यु भएको विषयलाई लिएर सुरु भएको विवाद चर्किएपछि विराटनगरस्थित कोसी अञ्चल अस्पतालका koshi 3चिकित्सकले सामूहिक राजीनामा दिएका छन् ।
आफूहरुको भौतिक सुरक्षाको माग गर्दै अस्पतालमा कार्यरत ३९ चिकित्सकले फ्याक्समार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा राजीनामा पत्र पठाएका हुन् । चिकित्सकको राजीनामापछि अस्पतालको बहिरंग सेवा ठप्प भएको छ । राजीनामा पत्रमा बिरामीका आफन्तबाट चिकित्सकमाथि पटकपटक आक्रमण र अभद्र व्यवहार हुँदै आएको उल्लेख छ ।

चिकित्सकको लापरबाहीले ज्यान गएको आरोपमा मृतकका आफन्तले अस्पतालका प्रसूति विभाग प्रमुख डा.योगेन्द्र मिश्रमाथि मृतकका आफन्तले हातपात गरेका थिए । चिकित्सकमाथि हातपात गरेपछि अस्पतालको वातावरण केहीबेर तनावग्रस्त बनेको थियो । चिकित्सकले आक्रमणमा संलग्नमाथि कारबाहीको माग गरेका छन् ।

प्रसुतिका लागि ल्याइएकी सिरहा लक्ष्मीपुरकी २७ वर्षीया काजमा प्रवीनको शल्यक्रिया गरी बच्चा निकालेको केहीबेरमा शुक्रबार राति मृत्यु भएको थियो । मृतकका आफन्तले क्षतिपूर्तिबापत २० लाख रुपैयाँ माग गरेका छन् । समस्या समाधानको प्रयासमा अस्पताल प्रशासन र मृतक परिवारबीच भएको वार्ता बिनानिष्कर्ष टुंगिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us