चुनावको मितिमा कसैसँग सम्झौता हुँदैन : कोइराला

काठमाण्डु टुडे २०७० भदौ ९ गते १०:२० मा प्रकाशित

Sushil_koiralaचितवन, ९ भदौ- नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले निर्वाचनको मितिमा कसैसँग सम्झौता नहुने बताएका छन् । आइतबार चितवनका कार्यकर्तासँगको भेटमा कोइरालाले मंसिर ४ का लागि तोकिएको निर्वाचनको तयारी अन्तिम चरणमा पुगिसकेकाले मिति सार्न असम्भव रहेको बताए ।

अहिले राजनीतिक सहमति गरेर यही सरकारमार्फत तोकिएकै समयमा निर्वाचन गर्नुको विकल्प नभएको कोइरालाको भनाई छ ।

उच्चस्तरीय राजनीतिक समितिका संयोजकसमेत रहेको कोइरालाले वैद्य माओवादी नेतृत्वको मोर्चालाई गृहकार्यका लागि केही दिन समय दिएको बताउँदै भने, ‘यदि सबैले चुनाव चाहेको हो भने सहमति गर्न ढिलाइ गर्न हुँदैन । मंसिर ४ गतेको चुनाव सार्ने कुरा पनि हुँदैन ।’

निर्वाचन नभए देश दुर्घटनामा जाने भन्दै उनले सबै दल निर्वाचनमा आउनुपर्नेमा जोड दिए । उनले कार्यकर्तालाई गाउँगाउँमा गएर जनमत बटुल्न निर्देशनसमेत दिएका छन् ।

चितवनको रत्ननगरमा आइतबारदेखि हुन लागेको भ्रातृ सङ्गठन नेपाल ट्रेड युनियन काँग्रेस स्वतन्त्रको महाधिवेशनमा सहभागी हुन कोइराला लगायतका काँग्रेस नेताहरु चितवन पुगेका छन् । निर्वाचन नजिकिएको र उम्मेदवारीको छनोटको क्रम चलिरहेकाले कोइराला र शेर बहादुर देउवा पक्षका काँग्रेस नेताहरू एकपक्षीय र वहुपक्षीय भेटघाटमा व्यस्त भएका छन् ।
तीनदिनसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । महाधिवेशनमा देशभरबाट एक हजार ५ सय भन्दा बढी कार्यकर्ता सहभागी हुनेछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us