
काठमाण्डु, ९ भदौ । विश्व हिन्दू परिषदको धार्मिक र्यालीलाई भारतको उत्तर प्रदेश सरकारले अवैधानिक घोषणा गर्दै रोक लगाएको छ । परिषदले अयोध्यामा आइतबारदेखि शुरु गर्न लागेको ‘८४–कोसी परिक्रमा’ अपारम्परिक भएको ठहर गर्दै राज्य सरकारले रोक लगाएको हो ।
राज्य सरकारको यो निर्णयसँगै अयोध्या र फैजावादमा तनावको स्थिति सिर्जना भएको छ । राज्य सरकारको निर्णयले विश्व हिन्दू परिषद र भारतीय जनता पार्टीबीचको सम्बन्ध बिग्रिएको भारतीय सन्चार माध्यमहरुले जनाएका छन् ।
‘परिषदले धार्मिक परिक्रमामा रोक लगाउनु गैरकानुनी भएको दावी गरेको छ भने राज्य सरकारले पनि ८४–कोसी परीक्रमा अपारम्परिक भएकोले गैर कानूनी भएको तर्क गरेको छ,’ बीबीसी हिन्दीको अनलाइन संस्करणले लेखेको छ ।
वीएचपी नेता प्रवीण तोगडयालाई प्रहरीले पक्राउ समेत गरेको छ । उनले निषेधाज्ञाको उल्लंघन गरेको सरकारको आरोप छ । यसअघि पूर्व सांसद तथा राम जन्मभूमि न्यासका वरिष्ठ सदस्य राम विलास वेदान्ती, फैजावादका बीजेपीका विधायक राम चन्द्र यादव, राम जन्मभूमि न्यासका अध्यक्ष नृत्य गोपाल दासलाई पनि स्थानीय प्रशासनले हिरासतमा लिएको भारतीय सन्चार माध्यमहरुले जनाएका छन् ।