
काठमाण्डु, ९ भदौ– नेपालका लागि भारतीय राजदूत जयन्त प्रसाद आफ्नो दुई वर्षे कार्यकाल सकाएर आज स्वदेश फर्कंदै छन् ।
राजदूत प्रसाद दिउँसो दुई बजे नयाँदिल्लीका लागि प्रस्थान गर्ने कार्यक्रम रहेको भारतीय दूतावासले जनाएको छ । राजदूत प्रसादलाई फिर्ता बोलाएको भारतले नयाँ राजदूतमा रञ्जित रेलाई नियुक्ति गर्ने तयारी गरेको छ । रे आगामी १५ भदौभित्र कार्यकाल सम्हाल्न काठमाण्डु आइपुग्ने बताइएको छ । दक्षिण एशियाली कुटनीतिका विज्ञ मानिने रेले तत्कालीन विद्रोही नेकपा माओवादी र सात राजनीतिक दलबीच दिल्लीमा भएको १२ बुँदे समझदारी निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
तुलनात्मक रुपमा कम विवादमा फरेका प्रसादको आसन्न संविधानसभा निर्वाचनसम्म कार्यकाल थप्न भारतभित्र र नेपाली कुटनीतिक वृत्तबाटसमेत गरिएको लविङ सफल नभएपछि रे नयाँ राजदूतका रुपमा आउने भएका हुन् ।
राजदूत प्रसादले राष्ट्रपति रामवरण यादव, मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीसहित प्रमुख राजनीतिक दलका शीर्षस्थ नेतृत्वसँग केही दिनअघि बिदाई भेट गरेका थिए ।