सदभावनाले मधेश रक्षावाहिनी बनाउने

काठमाण्डु टुडे २०७० भदौ ९ गते २:२९ मा प्रकाशित

धनुषा, ९ भदौ– सदभावना पार्टी (राजेन्द्र महतो पक्ष) ले अगामी चुनावलाई लक्षित गरी मधेश रक्षावाहिनी बनाउने भएको छ । धनुषाको जनकपुरमा जारी विस्तारित बैठकबाट सद्भावनाले सबै निर्बाचन क्षेत्रमा मधेस रक्षावाहिनी बनाउने निर्णय गर्न लागेको हो ।

rajendra mahatoएकीकृत माओवादीको वाईसीएल, काँग्रेसको तरुण दल, एमालेको युवा संघ जस्तै सदभावनाले युवाहरुको समूहलाई मधेश रक्षावाहिनी नाम दिएको छ ।

जनकपुरको मारवाडी सेवा समितिको भवनमा जारी विस्तारित बैठकको दोस्रो दिन आइतबार पार्टी महासचिव मनिषकुमार सुमनको राजनीतिक प्रस्ताव, उपाध्यक्ष लक्ष्मणलाल कर्णको चुनावी घोषणा पत्र प्रस्ताव र मधेस रक्षा वाहिनीको विधानमा छलफल हुने छ । उपाध्यक्ष कर्णले तयार पारेको घोषणापत्रमा मधेसमा दुईवटा प्रदेश बनाउन प्रस्ताव गरिएको छ ।

२१ वटा समूहमा विभाजन गरिएका अगुवा कार्यकर्ताहरुको सुझावको आधारमा आवश्यक निर्णय लिने उपाध्यक्ष कर्णले जानकारी दिए । सोमबार अन्तिम दिन चुनावको रणनीति तय गर्ने र कार्यकर्ताहरुलाई प्रशिक्षण दिएर चुनावमा होमिने उनको भनाई छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us