दोषी उच्चमाविको कारबाही प्रक्रिया अवरुद्ध

काठमाण्डु टुडे २०७० भदौ ८ गते ११:५२ मा प्रकाशित

काठमाण्डु, ८ भदौ । उच्च माध्यामिक शिक्षा परिषद्को अनुगमन समितिले कारबाही लागि सिफारिस गरेका उच्च माविहरुको कारबाही प्रक्रिया रोकिएको छ ।
parishadपरिषद्का उपाध्यक्ष डा. हेमकुमार मिश्रको उदाशीनताको कारण कारबाही प्रक्रिया प्रभावित भएको हो । परिषद्ले २०६९ माघ २८ गतेबाट कार्यान्वयनमा ल्याएको ६३ बुँदे आचारसंहितामा आधारित भई गत असार ७ बाट गरेको अनुगमनमा आचारंहिता उल्लंघन गर्ने राजधानीका २७ प्लस टु कारबाहीको दायरा भित्र परेका थिए । गल्ती सच्याउने प्रतिवद्धता जनाएपछि  २७ मध्ये अधिकांश उच्चमावि परिषद्को कारबाहीबाट जोगिएका थिए । ‘अधिकांशले स्पष्टीकरण पत्रमा गल्ती नदोर्‍याउने प्रतिबद्धता गरेपछि सुध्रिने मौका दियौँ’, अनुगमन समितिका संयोजक नारायण कोइरालाले भने ।
समितिले चित्तबुझ्दो स्पष्टीकरण नदिएको भन्दै काठमाडौँको तीनकुनेस्थित वर्षा कलेज र ललितपुरको बालकुमारीस्थित क्यापिटल कलेज एण्ड रिसर्च सेन्टरमाथि कारबाही सिफारिस गरेको थियो । ‘समितिले कारबाहीका लागि टिप्पणी उठाएर उपाध्यकहाँ पठाएको तीन साता भयो, तर अझै कारबाही भएको छैन ।’ परिषद् श्रोतले भन्यो । अनुगमन समितिले वर्षा कलेजको सम्बन्धन नै खारेज गर्न फरिषद्समक्ष सिफारिस गरेको छ ।

यस्तै क्यापिटल कलेज एण्ड रिसर्च सेन्टरलाइ ५० हजार जरिवाना तोकिएको छ । उच्च माध्यामिक शिक्षा नियमावली २०५२ मा कानुनी व्यवस्था उल्लंघन गर्ने उच्च माविमाथि कारबाहीको  निर्णय गर्ने अधिकार परिषद् उपाध्यक्षलाई दिएको छ । नियमावलीको नियम १९ को घ मा उपाध्यक्षको काम सम्बन्धन प्राप्त उच्च माध्यामिक विद्यालयहरुको निरीक्षण गर्ने गराउने र त्यस्ता विद्यालयहरुको काम कारबाही सम्बन्धमा आवश्यक निर्देशन दिने उल्लेख छ । यस्तै उपनियम ङ अनुसार परिषद् वा सभासँग सम्बन्धित मुद्दा मामिलामा सभा वा परिषद्का तर्फबाट आवश्यक कारबाही गर्ने जिम्मा पनि उपाध्यक्षमै निहीत छ ।

पहिलो चरणको अनुगमनमा उपाध्यक्षबाट असहयोग हुँदा समेत समितिले अनुगमनमा सक्रियता बढाएको छ । परिषद्ले भाद्र ३ गतेबाट ड्रेसकोड पालना भए नभएकोबारे अुनगमन सुरु गरेको छ । दोस्रो चरणको अनुगमनमा ३ एम मोबाइल, मिनिस्कर्ट र मोटरबाइकको प्रयोगबारे  पनि अनुगमन गरिने अनुगमन समितिले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us