मतदाता नामावली दर्ता आज पनि जारी

काठमाण्डु टुडे २०७० भदौ ८ गते ५:०७ मा प्रकाशित

काठमाण्डु ८ भदौ– निर्वाचन आयागले फोटो सहितको मतदाता नामावलीमा नाम दर्तालाई शनिवार पनि जारी राखेको छ । फारम भरेका तर विवरण दर्ता गर्न नभ्याएकाहरुका लागि निर्बाचन आयोगले शनिवार पनि विवरण दर्ता गर्ने कार्य जारी राखेको हो । पछिल्लो पटक थपिको एकसाताको अन्तिम दिन शुक्रवार भिड भएका कारण सबैको नाम दर्ता गर्न भ्याइएको थिएन । समयअभावका कारण काम नभ्याइएकाका लागि शनिवार पनि समय दिएर नामावली दर्ता जारी राखेको निर्वाचन आयोगका प्रवक्ता बीर बहादुर राईले जानकारी दिए ।
पछिल्लो पटक थपिएको भदौ १ गतेदखि ७ गतेसम्मको अवधिमा डेढ लाख भन्दा बढी मतदाता थपिएका छन् । पछिल्लो पटक थपिएको एकसाताको समयमा १ लाख ६२ हजार ८ सय जनाले फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । यो सँगै कुल मतदाताको संख्या करीव १ करोड २५ लाख पुगेको छ । यद्यपी सबै जिल्लाबाट तथ्यांक आउन बाँकी रहेकोले यो संख्या अझै बढ्न सक्ने आयोगले जनाएको छ । राजनीतिक दलहरुले गरेको आग्रहमा फोटोसहितको नामावलीमा नाम दर्ता गर्न छुटेका लागि भदौ १ गतेदेखि ७ गतेसम्म अन्तिम मौका दिएको थियो । उच्चस्तरिय राजनीतिक समितिले अझै एकसाता समय थप्न गरेको आग्रह भने आयोगले अस्वीकार गरेको छ । फेरि पनि म्याद थप्दा निर्वाचन कार्यतालिका प्रभावित हुने आयोगको भनाई छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us