
धनुषा, ८ भदौ–सद्भावना पार्टीको राष्ट्रिय कार्य समितिको तीनदिने विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रम शनिवारदेखि जनकपुरमा सुरु हुदै छ । पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोको अध्यक्षतामा जनकपुरको मारवारी सेवा समितिमा हुने उक्त बैठक तथा प्रशिक्षण कार्यक्रममा समसामयिक राजनीतिक परिस्थिति, संगठन समिक्षा, पार्टीको भावी कार्यनिति तथा आगामी संबिधान सभाको चुनावका विषयमा छलफल हुने पार्टीका महासचिव मनिषकुमार सुमनले जानकारी दिए ।
पहिलो दिन शनिबार विभिन्न प्रस्ताव माथि जिल्लागत तथा सामुहिक छलफल हुनेछ भने आइतबार समुहगत रुपमा भएको छलफलको निष्कर्ष तथा प्रतिवेदन प्रस्तुत हुने कार्यक्रम छ । त्यसैगरी विस्तारित बैठकको अन्तिम दिन पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले बैठकका उपलब्धिका वारेमा सहभागीहरुलाई जानकारी गराउनेछन । समापन कार्यक्रममा विगतमा पार्टीद्वारा गरिएको आमरन अनसनमा सहभागी अनसनकारीहरलाई सम्मान तथा अभिनन्दन पत्र दिने कार्यक्रम रहेको सो पार्टीले जनाएको छ ।
बैठकमा पार्टीका राष्ट्रिय कार्य समितिका सम्पूर्ण पदाधिकारी, भातृसंगठन, जिल्लाका अध्यक्ष, क्षेत्रीय अध्यक्ष, नगर अध्यक्ष, क्षेत्रीय प्रभारी सहित पाँच सय भन्दा बढीको सहभभागिता रहने सद्भावना पार्टीका धनुषा अध्यक्ष संजय कुमार सिँहले जानकारी दिए ।
पार्टीको जिल्ला कार्य समितिको शुक्रवार जनकपुरमा भएको बैठकबाट भोजन, आवास लगायत मधेश रक्षाबाहिनी, विद्यार्थी मञ्च, युवा मञ्च सहित १०१ सदस्यीय स्वयंसेवक परिचालन कमिटी समेत गठन भएको जिल्ला अध्यक्ष सिंहले बताए ।