बैद्य चुनावमा आए सहकार्य गर्न प्रचण्ड तयार

काठमाण्डु टुडे २०७० भदौ ८ गते २:५१ मा प्रकाशित

काठमाण्डु ८ भदौ –एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले आफैबाट बिभाजित भई बनेको नेकपा–माओवादी संबिधानसभा निर्वाचनमा सहभागी भएमा सहकार्य गर्न तयार रहेको जनाउ दिएका छन । Prachanda-kiran

नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यसहितका पाँच जना पदाधिकारीसँग आफनै निवास लाजिम्पाटमा शनिवार गरेको छलफलमा अध्यक्ष प्रचण्डले निर्वाचनमा सहभागी हुने सुनिश्चिता प्रस्तुत गरेमा सहकार्य गरेर अगाडि बढन आफू तयार रहेको जनाउ दिएका हुन ।
प्रधानन्यायधिश खिलराज रेग्मी नेतृत्वको सरकार परिवर्तन गर्नु पर्ने,संबिधानका अन्तरबस्तुमा गोलमेच सम्मेलनमा सहमति खोज्नु पर्ने,संबिधानसभा निर्वाचन सार्नु पर्ने शर्त बैद्य र उनी पक्षका नेताहरुले पेश गरेका थिए । उच्चस्तरिय राजनीतिक समितिमा बैद्य नेतृत्वको मोर्चासँग वार्ता गर्नु अघि छलफल गरेका प्रचण्डले एजेण्डा मिल्ने कम्युनिष्टहरुका वीचमा सहकार्य गरेर अगाडि बढनु पर्ने आवश्यकता माथि जोड दिएको एकीकृत माओवादीका नेता नारायणकाजी श्रेष्ठले बताए ।
प्रचण्डको भनाई उदृत गर्दै श्रेष्ठले भने ‘निर्वाचनमा सहभागी हुने सुनिश्चिता हुने हो भने उच्चस्तरिय राजनीतिक समिति लचिलो भएर प्रस्तुत हुन तयार छ ।’ निर्वाचनमा सहभागी हुने र नहुने वीचको कार्यनीतिमा नै मतभेद देखिएको श्रेष्ठले बताए । उनले भने‘उहाँहरु निर्वाचनमा सहभागी हुने संभावना देखिएन ।’

नेकपा–माओवादीले यथास्थीतिमा संविधानसभा निर्वाचनमा सहभागि नहुने प्रष्ट पारेको छ । वर्तमान सरकारले गराउने मंसिर ४ गतेको निर्वाचनमा कुनैपनि हालतमा सहभागि नहुने सो पार्टीले प्रष्ट पारेको हो । भेटवार्तामा नाम मात्रको गोलमेच सम्मेलन गरेर अहिलेकै प्रक्रियामा निर्वाचनमा सहभागि हुने भन्ने भ्रममा नरहन माओवादी अध्यक्ष मोहन वैद्यले अध्यक्ष प्रचण्डलाई प्रष्ट पारेको श्रेष्ठले जानकारी दिए । माओवादीले सवै विषयहरुमा छलफल गरी गोलमेचबाटै टुंगाउनुपर्ने आफ्नो अडान रहेको प्रष्ट पार्दै गोलमेचलाई सार्थकरुप दिनुपर्नेमा जोड दिएको श्रेष्ठले बताए । नेता श्रेष्ठले निर्वाचन गर्ने कुरा सुनिश्चित गरेर कुरा मिलाउने विषयमा छलफल गरेर सहमतिकै आधारमा जान सकिने बताए ।
वार्ता सकरात्मक हुन नसकेको नेकपा–मओवादी सचिव देव गुरुङले बताए । गोलमेच सम्मेलनलाई बुझ्ने सवालमै फरक परेको जानकारी गराउदै गुरुङले उच्चस्तरीय राजनीतिक समितिले नाम मात्रको गोलमेच सम्मेलन गरेर आफुहरुलाई अहिले कै प्रक्रियामा सामेल गराउन खोजेको बताए । आफुहरु बास्तविक गोलमेच सम्मेलनबाटै सवै विषयमा छलफल गरी निकास निकाल्नुपर्नेमा अडिग रहेको गुरुङले बताइए । वर्तमान सरकार र घोषित निर्वाचन मिति अपरिवर्तनीय हुने उच्चस्तरीय राजनीतिक समितिको सर्त आफुहरुलाई मान्य नभएको गुरुङले प्रष्टयाए । उनले भने ‘गोलमेच सम्मेलनमा खुला छलफल गरी सर्वपक्षीय सहमतिका आधारमा नया सहमति गरेर अगाडी जानुपर्छ ।’
छलफलमा एकीकृत माओवादीका तर्फबाट अध्यक्ष प्रचण्डसहित नेताहरु,डा बाबुराम भट्टराई,श्रेष्ठ,पोष्टबहादुर बोगटी र कृष्णबहादुर महरा सहभागी थिए भने नेकपा–माओवादीका तर्फबाट बैद्य,उपाध्यक्ष सीपी गजुरेल,महासचिव रामबहादुर थापा,सचिवद्धय देव गुरुङ र नेत्रबिक्रम चन्द सहभागी थिए । बैद्य,गजुरेल,थापा र गुरुङ निर्वाचनमा सहभागी हुने पक्षमा रहे पनि चन्द भने निर्वाचनलाई सशक्त बहिस्कार गर्नु पर्ने पक्षमा छन । पोखरा बैठक अघि बैद्यले तीन पटकसम्म उपाध्यक्ष गजुरेलको नेतृत्वमा मोर्चा बनाएर निर्वाचन आयोगमा दर्ता गर्न प्रस्ताव राखेका थिए ।

दुई पक्षीय वार्तापछि दुवै पक्षका शिर्ष नेताहरुले छुट्टा छुट्टै छलफल गरी समीक्षा गरेका छन । नेकपा–माओवादीका नेताहरुले आन्तरिक छलफल गरी ३३ दलीय मोर्चाको कार्यदलसँग पार्टी मुख्यालय बुद्धनगरमा छलफल गरेको छ । उच्चस्तरीय राजनीतिक समिति र ३३ दलिय मोर्चाबीच भदौ ४ गते गोलमेच सम्मेलन गर्ने सहमति भएको थियो । गोलमेच सम्मेलनको विधि प्रक्रिया र मितिका वारेमा अझै सहमति जुट्न सकेको छैन ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us