
काठमाण्डु, ७ भदौ–उच्चस्तरीय राजनीतिक समितिले ४ मंसिरमा घोषित संविधानसभा निर्वाचन स्थगन र सरकार परिवर्तन गर्नुपर्ने असन्तुष्ट दलको मागमा सहमत हुन नसकिने स्पष्ट गरेको छ ।
नयाँबानेश्वरमा शुक्रबार साँझ बसेको समिति बैठकले मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी सम्वद्ध मोर्चाको सर्तअनुसार निर्वाचन सार्न र सरकार परिवर्तन गर्न नसकिने निष्कर्ष निकालेको हो । बैठकले वैद्य मोर्चाले निकासका लागि गोलमेच सम्मेलनको माग गरेकामा समेत आशंका गरेको छ । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमाले नेता रघुजी पन्तले वैद्य मोर्चाको माग पूरा गर्न कठिन भएको बताए । उहाँहरु रिजिड रुपमा आउनुभएको छ’, पन्तले भने, ‘हेरौं वार्तापछि के हुन्छ ।’
काँग्रेस नेता अर्जुननरसिंह केसीले निर्वाचन स्थगन र सरकार परिवर्तनबाहेक मोर्चाका मागमा लचकता अपनाउन तयार रहेको बताए ।