काठमाण्डु, २९ मङ्सिर- नेपाली फुटबल टोलीले नौ महिनापछि बन्द प्रशिक्षण थालेको छ । विश्वकप फुटबल छनोट खेलको तयारीका लागि टोली बन्द प्रशिक्षणमा उत्रेको हो । कोरोना भाइरसको महामारीका कारण प्रशिक्षणमा ढिलाइ भएको हो ।
सन् २०२२ मा हुने फिफा विश्वकप तथा सन् २०२३ मा आयोजना हुने एएफसी एशियन कपको छनोटका लागि एन्फाले खेलाडीलाई बन्द प्रशिक्षण थालेको हो । विश्वकपको एशियन छनोटमा नेपालले आफ्नै भूमिमा चैत १२ गते चाइनिज ताइपेइसित, चैत १७ गते अस्ट्रेलियासित तथा जेठ २४ गते जोर्डनसित छनोट खेल खेल्ने एन्फाले जनाएको छ ।
खेलाडीलाई कार्यवाहक मुख्य प्रशिक्षक बालगोपाल महर्जनले ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा प्रशिक्षण दिइरहेका छन् । समूह ‘बी’ मा नेपालसहित अस्ट्रेलिया, कुवेत, जोर्डन र चाइनिज ताइपेइ छन् । अस्ट्रेलिया १२ अङ्कसहित शीर्ष स्थानमा छ भने कुवेत र जोर्डन समान १० अङ्कसहित दोस्रो र तेस्रो स्थानमा तथा नेपाल तीन अङ्कसहित चौथो स्थानमा छ । चाइनिज ताइपेइ अङ्कविहीन अवस्थाामा रहँदै समूहको पुछारमा छ ।-रासस