नेपालको सुरक्षा सहयोगमा चीन, भारत र अमेरिकाको होड

काठमाण्डु टुडे २०७७ असोज ३० गते ७:१४ मा प्रकाशित

काठमाण्डु, ३० असोज– चीनले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई विभिन्न तालिमका नाममा बर्सेनि आफ्नो मुलुकमा आमन्त्रण गरिरहेको हुन्छ । प्रहरीले चीनकै सहयोगमा डिजिटल रेडियो ट्रङकिङ सिस्टम चलाइरहेको छ। उपत्यकासँगै काभ्रे, कास्की र सिन्धुपाल्चोकका प्रहरीले हाईटेरा सेट चलाइरहेका छन् ।

उच्च प्रविधिको भनिएको उक्त सेट सञ्चालन र प्रविधि सहयोगमा पनि चीनकै लगानी छ । उक्त प्रविधि जडान गर्न चीनले प्रहरीलाई २ करोड ६० लाख युआन (करिब ४० करोड रुपैयाँ) सहयोग गरेको थियो ।

चीनले नै ३ अर्ब ६० करोड रुपैयाँ लगानीमा एकेडेमी (केन्द्रीय तालिम केन्द्र) बनाएर सशस्त्र प्रहरीलाई हस्तान्तरण ग¥यो। तत्कालीन गृहमन्त्री माधव घिमिरेले नेपाल–चीनबीच सन् २०१३ जुन २५ मा उक्त सम्झौता गर्न भूमिका निर्वाह गरेका थिए । उसले उक्त सहयोगमार्फत तिब्बती शरणार्थी प्रवेश र सीमामा उनीहरूको प्रदर्शनमा कडाइ गर्न सशस्त्रको भूमिका खोजेको जानकार बताउँछन्। चिनियाँ राजदूत यु होङले एकेडेमी हस्तान्तरणका दिन ०७४ चैत ४ गते नेपाल–चीन सम्बन्ध थप उचाइमा पुगेको बताएकी थिइन् ।

त्यस्तै, भारतले पछिल्लो पटक नेपाल प्रहरीको एकेडेमी बनाउने प्रक्रिया थालेको छ । उसले काभ्रेको पनौतीमा एकेडेमी बनाउन पौने ९ अर्ब रुपैयाँ अनुदान दिने सम्झौता गरेको थियो । त्यसको ६ वर्षपछि परामर्शदाता नियुक्त गरिएको छ ।

भारतले विशेषगरी नेपाल प्रहरीलाई धेरै सहयोग गर्दै आएको छ। संविधानसभाको पहिलो निर्वाचन ०६४ मा ८ सय ४ र संविधानसभाको दोस्रो चुनावमा ४ सय ४३ वटा सवारीसाधन सहयोग गरेको थियो। ती सवारी अझै सडकमा गुड्छन् ।

चीन र भारतपछि सुरक्षा अंगमा चासो दिनेमा अमेरिका देखिएको छ । उसकै सहयोगमा प्रहरी मुख्यालयभित्र रहेको कमान्ड सेन्टर ७ करोड ३३ लाख रुपैयाँमा बनेको हो। तत्कालीन दक्षिण एसिया तथा मध्य मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री रबर्ट ब्लेक उक्त सेन्टर उद्घाटन गर्न ०६७ मा नेपाल आएका थिए । अमेरिकी सहयोगमै प्रहरीले पोलिग्राम टेस्ट मेसिन प्रयोगमा ल्याइरहेको छ । झुटो बोलेको पत्ता लगाउने उक्त मेसिन चलाउन तालिम लिन नेपाल प्रहरीले एक जना अधिकृत अमेरिका पठाएको थियो । अन्नपूर्ण पोस्टबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us