जन्मदिन मनाउन नपाउदै विमान दुर्घटना हुँदा ११ जनाको मृत्यु

काठमाण्डु टुडे २०७० कार्तिक ३ गते ७:०९ मा प्रकाशित

ब्रुसेल्स, ३ कात्तिक–दक्षिण–पूर्वी बेल्जियमको फर्नेलमोन्ट नगरनजिकै शनिबार एउटा सानो विमान दुर्घटनाग्रस्त हुँदा चालकसहित ११ जनाको मृत्यु भएको छ ।
स्थानीय सञ्चार माध्यमका अनुसार नामुर विमानस्थलबाट उडेको सो विमान प्रस्थान गरेको केही मिनेटमा नै जमिनमा खसी दुर्घटनाग्रस्त भएको थियो ।
बेल्जियमको समाचार संस्था बेल्गा समाचार समितिले नामुरका नगर प्रमुख म्याक्सिम प्रेभोटको भनाई उद्धृत गर्दै विमानको एउटा पखेटा आकासमै झरेको र विमान ढुङ्गा जस्तै खसी जमिनमा बज्रन पुगेको कुरा उल्लेख गरेका छन् ।
स्विजरल्यान्डमा निर्मित पिलाटस टर्बो पोर्टर पि–सी ६  मोडेलको सो विमानमा रहेका १० जना नभकलाप्रर्दशक (स्काई डाइभर) र विमान चालक समेतको मृत्यु भएको छ । ४० वर्षीय एकजना महिलाको जन्म दिन मनाउन उक्त विमान चार्टरगरी नभकलाप्रदशकका लागि लगिएको थियो । ती महिलाको पनि सोही विमान  दुर्घटनामा परी मृत्यु भएको छ । दुर्घटनास्थल राजधानी ब्रुसेल्सबाट ६५ किलोमिटर दक्षिणपूर्वमा पर्दछ । रासस/सिन्ह्वा

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us