काठमाण्डु, १६ पुस– शरीर र उमेरले विश्राम मागे पनि सक्रिय राजनीतिमा दौडिरहेका प्रधानमन्त्री सुशील कोइराला र नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ले नर्भिक अस्पतालमा बुढेसकाले गफ गरेर एकअर्काको स्वास्थ्य लाभको कामना गरेका छन् ।

सोमबार साँझ स्वासप्रस्वासमा समस्या देखिएपछि राजधानीको नर्भिक अस्पतालमा भर्ना भएका किरणलाई भेट्न बुधबार दिउँसो ३ बजे अस्पताल पुगेका प्रधानमन्त्री कोइरालाले कोठा नम्बर ४०९ मा पुगी सबै नेतालाई रोगले छोएको उल्लेख गर्दै भने, ‘राजनीति त्यस्तै हो, स्वास्थ्यको ख्याल गर्नु होला ।’
प्रधानमन्त्रीको जिम्मेवारीबाट थकित देखिने प्रधानमन्त्री कोइरालाले लामो सास फेर्दै किरणलाई भने, ‘मलाई क्यान्सर लागेको छ, तपार्इंलाई दमको समस्या छ, ख्याल गर्नु होला है ।’
कोइरालाले आफ्नो भाइ अरुण कोइरालाको प्रसंग कोट्याउँदै भने, ‘भाइलाई निमोनिया लागेको थियो चिसोबाट जोगिनु पर्ने ख्याल नगर्दा स्वास्थ्य बिग्रियो । तपाईले चाहिँ ख्याल गर्नुस् ।’
जवाफमा किरणले कोइरालाको स्वास्थ्यबारे जान्न चाहेका थिए । कोइरालाले आफ्नो स्वास्थ्य अहिले ठिक भएपनि क्यान्सर लागेदेखि अलिक कमजोर महसुस गरेको बताएका थिए । दुवै नेता सात दशकको उमेरमा छन् ।
कोइरालाले कुरा गर्दै गर्दा किरणको देबे्र हातमा सलाइनपानी चढाइँदै थियो भने नाकमा अक्सिजनको पाइप जोडिएको थियो । पश्चिमपट्टी शिर गरेर सुतेका किरणको दाहिनेतर्फ कोइराला सोफामा बसेर ढाडस दिँदै भने, ‘नआत्तिनुस् ठाँउमा आइपुग्नु भएको छ सबै ठीक हुन्छ ।’
कोइरालाले चिकित्सकहरुसँग पनि किरणको स्वास्थ्य अवस्थाबारे चासो राख्दै ध्यान दिन आग्रह गरेका थिए ।