काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझी विभिन्न कसुरमा दोषी ठहर भएका छन् ।
तर, यही मुद्दामा सँगै प्रतिवादी बनाइएका उनका छोरा सन्दीप रायमाझीले भने अदालतबाट सफाइ पाएका छन् ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलासले मंगलबार सुनाएको फैसलामा टोपबहादुर रायमाझीलाई राज्यविरुद्धको कसुर, ठगी तथा संगठित अपराधमा दोषी ठहर गरिएको छ ।
यद्यपि, सन्दीप रायमाझीविरुद्ध अभियोग पुष्टि हुन नसकेपछि अदालतले उनलाई आरोपबाट सफाइ दिएको हो ।
सरकारी वकिलको कार्यालयले २०८० जेठ १० गते बुबा–छोरासहित ३० जनाविरुद्ध ठगी, सरकारी लिखत किर्ते, राज्यविरुद्धको अपराध, संगठित अपराध तथा एकीकृत कसुरमा मुद्दा दायर गरेको थियो ।
त्यसयता करिब तीन वर्षसम्म चलेको सुनुवाइपछि अदालतले बुबालाई दोषी र छोरालाई निर्दोष ठहर गरेको हो ।
अदालतले टोपबहादुर रायमाझीसहित दोषी ठहर भएका प्रतिवादीहरूको सजाय निर्धारणका लागि असार २९ गते पेसी तोकेको छ ।