काठमाण्डु, १६ पुस– प्रधानमन्त्री सुशील कोइरालाले विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयको पनि जिम्मेवारी सम्हालेका छन् । त्यही मन्त्रालयका सचिव डा. कृष्णचन्द्र पौडेलले पत्रकारलाई हप्कीदप्की र अपमानपूर्ण व्यवहार गरेका छन् ।

मन्त्रालयको जिम्मेवारी सम्हालेर पनि प्रधानमन्त्री एकपटकसम्म मन्त्रालय नपुगेको सम्बन्धमा रिपोर्टिङ गर्न गएका एक पत्रकारलाई सचिव पौडेलले हप्काएर पठाएका हुन् । चक्रपथ डटकमका पत्रकार कमल पराजुलीलाई उनले ‘यस्तो पनि समाचार हुन्छ, समाचार लेख्द आउँदैन, मेरो कोठामा नआउनू काम नलाग्ने पत्रकार’ भन्दै हप्काएका थिए ।
उनले गालीगलौज र दुव्यर्वहार गर्दै कार्यकक्षबाट बाहिर निकालेका थिए ।
यस विषयमा नेपाल पत्रकार महासंघले भत्र्सना गर्दै दोषी सचिव पौडेलमाथि कारवाही गर्न माग गरेको छ । महासंघकी सचिव संगीता पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सार्वजनिक पदमा बसेका जिम्मेवार अधिकारीबाट भएको यो घटना स्वतन्त्र पत्रकारितामाथिको गम्भीर प्रहार हो । यो घटनाले संविधानले प्रत्याभूत गरेको पत्रकारको अधिकार र नागरिकको सुसूचित हुने अधिकारमाथि अघात पुगेको महासंघको ठम्याई छ । महासंघ पत्रकार पराजुलीमाथि भएको दुव्र्यवहारको कडा शब्दमा निन्दा गर्दै घटनाको यथार्थ पत्ता लगाई दोषीमाथि कार्वाहीको माग गर्दछ ।’
नेपाल आर्थिक पत्रकार समाजले पनि सचिव पौडेलमाथि कारवाही गर्न माग गरेको छ ।