काठमाण्डु, १६ पुस– प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले बहुमतीय प्रक्रियामै गएर संविधान ल्याउने निर्णय गरेको छ । सहमतीय संविधानका लागि प्रतिपक्षी दलहरुबाट दबाब आइरहेका बेला कांग्रेसले यस्तो निर्णय गरेको हो ।
आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारीको बैठकले माघ ८ मै संविधान ल्याउन बहुमतीय प्रक्रियामा जाने निर्णय गरेको हो । त्यसका लागि संविधानसभा नियमावलीमा भएका केही प्रावधानलाई निलम्वन गर्नका लागि सभामुख सुवास नेम्वाङलाई सुझाव दिने पनि कांग्रेसले निर्णय गरेको छ ।
सहमतिको प्रयास यथावत राख्दै माघ ८ मा संविधान ल्याउन नियमावली प्रक्रियालाई छोट्याउनका लागि आज बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुखलाई उक्त सुझाव दिने निर्णय भएको उपसभापति रामचन्द्र पौडेलले बताए ।
एमाओवादीले सहमतीय संविधान निर्माण गर्न दबाब दिनका लागि आन्दोलन घोषणा गरिसकेको अवस्थामा काँग्रेसले बहुमतीयमै जाने निर्णय गरेपछि सहमितिको वातावरण थप बिग्रने देखिएको छ ।