खोटाङ, १६ पुस–देशभर दैनिक ११ घन्टा विद्युत्कटौती भार भइरहेको समयमा खोटाङको उत्तरी एक गाविसमा भने चौबिसैँ घन्टा बिजुली बल्ने गरेको छ ।

सदरमुकाम दिक्तेल र आसपासका स्थानीयले विद्युत्भार कटौतीको मार खेपिरहेको बेला उत्तरी गाविस ऐसेलुखर्कमा भने स्थानीयवासीले चौबिसैँ घन्टा नियमित विद्युत् उपभोग गरिरहेका छन् ।
कहिलेकाहीँ प्राविधिक समस्या तथा ‘सट’ भएर बिग्रेको दिनबाहेक अन्य दिनमा विद्युत् आउने गरेको सेवाग्राही बताउँछन् ।
विसं २०६८ मा दातृसंस्था तथा समुदायकै लगानीमा स्थानीय लिदिङ खोला सामुदायिक विद्युत् आयोजनाबाट ९० किलोवाट क्षमताको विद्युत् उत्पादन गरिएपछि ऐसेलुखर्क विद्युत्भार कटौतीमुक्त बनेको विद्युत् उपभोक्ता समितिका सचिव हरेराम राजभण्डारीले बताए ।
यनले भने ‘विद्युत् विस्तार भएयता ऐसेलुखर्कवासीले न त विद्युत्भार कटौतीकोे मार खेप्नु परेको छ, न त चर्को विद्युत् महसुल नै तिर्नु परेको छ, विद्युतीय सामग्री चलाउन कहिले बिजुली आउँला भनेर कुनुपर्ने अवस्था पनि छैन, ढुक्कका साथ काम गर्न सकिन्छ ।’
विद्युत्को राम्रो व्यवस्था भएका कारण ऐसेलुखर्कमा इमेल, इन्टरनेटका साथ विद्युत्बाटै ऐसेलुखर्क बजारमा दुईवटा कुटानी पिसानी मिल र एकवटा फिल्म हलसमेत सञ्चालनमा छन् । उत्पादन भएको ९० किलोवाट विद्युत्मध्ये हाल ६३ किलोवाट मात्र खपत भइरहेकाले बाँकी विद्युत् अन्य गाविसलाई बिक्री गर्ने तयारी भइरहेको उपभोक्ता समितिले जनाएको छ ।