काठ चोरी गर्ने सात जना पक्राउ

काठमाण्डु टुडे २०७१ पुष १६ गते २:४० मा प्रकाशित

कञ्चनपुर, १६ पुस– कञ्चनपुरको देखतभूली–३ मा रहेको कञ्चन सामुदायिक वनबाट काठ चोरी गरेर ल्याउँदै गरेको अवस्थामा प्रहरीले सात जनालाई मंगलबार पक्राउ गरेको छ । उनीहरुसहित चार वटा काठ चोरीमा प्रयोग भएका गाडा पनि प्रहरीले पक्राउ गरेको छ ।

सातै जनालाई वन क्षेत्रबाटै काठ ल्याउँदै गरेको बेला सेक्टर वन कार्यालय वाणीको वनरक्षकको टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा देखतभूली–का २७ वर्षीया जेली राना, ४५ वर्षीया कारा राना, चन्दा राना, पृथी राना, ५० वर्षीय दरौगा राना, २९ वर्षीय हरिलाल राना र २१ वर्षीय राधेश्याम राना रहेका छन् ।

उनीहरुलाई गाडामा काँचो सालका गोलिया ल्याउँदै गरेका बेला पक्राउ गरेको सेक्टर वन कार्यालय बाणीका प्रमुख दिलीप यादवले बताए । पक्राउ परेका सातै जनालाई वन कार्यालय कञ्चनपुरको हिरासतमा राखेर अनुसन्धान अगाडि बढाइएको उनले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us