झापा, १५ पुस एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाओवादी अध्यक्ष प्रचण्डसँग एकअर्काविरुद्ध सार्वजनिक रुपमा नकारात्मक टिकाटिप्पणी नगर्ने सहमति तोडेका छन् ।
ओली झापामा मंगलबार भएको एक कार्यक्रममा प्रचण्डप्रति आक्रामक रुपमा प्रस्तुत भए । प्रचण्डले ओलीलाई राजा महाराजा र देशको ठेकेदार बन्न खोजेको आरोप लगाएपछि दुई नेताबीच दोहोरो चलेको थियो ।
प्रचण्ड र ओलीको आरोप प्रत्यारोपले सहमति निर्माणमा बाधा पुगेको भन्दै दोश्रो तहका नेताले बालुवाटारमा दुई नेताबीच केही दिनअघि छुट्टै वार्ता गराएका थिए ।
त्यस क्रममा एकअर्काविरुद्ध सार्वजनिक रुपमा टिकाटिप्पणी नगर्ने समझदारी भएको थियो ।
उनले प्रचण्डले जातीयताको नारा उरालेर मुलुकलाई बर्बादीतर्फ धकेलेको आरोप लगाए ।
एमाओवादीले बाटो र बिजुली माग्न आउने जनतालाई विकास होइन पहिचान चहिन्छ भन्दै जातीयता उरालेको आरोप उनको थियो ।
ओलीले आफूहरुसँग दुईतिहाई बहुमत रहेकाले माघ ८ मा संविधान जारी गर्नबाट कसैले रोक्न नसक्ने चेतावनी दिए ।