एड्सले लियो प्युठानमा १४ जनाको ज्यान

काठमाण्डु टुडे २०७१ पुष १५ गते ८:०४ मा प्रकाशित

  प्युठान, १५ पुस–प्युठान जिल्लाका एचआइभी सङ्क्रमित एक सय ३८ जनामध्ये १४ जनाको मृत्यु भएको छ ।

hiv

जिल्ला स्वास्थ्य कार्यालय तथा जिल्लामा अन्य निकायबाट यसको तथ्याङ्क राख्न सुरु भएपछि सङ्क्रमितमध्ये १४ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

मृतकमध्ये वैदेशिक रोजगारबाट फर्किएका धेरै भएको पाइएको छ । सङ्क्रमित व्यक्तिको प्रत्यक्ष असर परिवारका श्रीमती र छोराछोरीलाई धेरै पर्ने गरेको कार्यालयका सूचना अधिकृत दलबहादुर केसीले बताए ।

उनले भने ‘विदेशबाट आएका श्रीमान्सँग यौन र एचआइभीको विषयमा श्रीमतीहरुले खुलेर कुरा गर्न सक्दैनन्, यसको रोकथामका लागि चुनौती थपिँदै गएको छ ।’

जिल्लामा सङ्क्रमितमध्ये नौँ जना बालबालिका रहेका छन् । समाजमा अझैसम्म पनि सङ्क्रमितलाई खुल्नका लागि समस्या रहेको भन्दै रेडक्रस जिल्ला शाखाका महामन्त्री दामोदर शर्माले जिल्लामा सङ्क्रमित बालबालिकाको समस्या अरुको तुलनामा थप जोखिमपूर्ण रहेको जानकारी दिए ।

सङ्क्रमित प्युठान नगरपालिका विजुवारकी कमला नेपालीले श्रीमान्को दोषलाई पनि महिलाले गर्दा भएको भन्दै उल्टो आरोप लगाउँदा आफूहरुको खुल्न सक्ने अवस्था नरहेको बताइन् ।

नेपालमा अहिले करिब ४० हजारजनामा एचआइभी सङ्क्रमण रहेको राष्ट्रिय एचआइभी÷एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको तथ्याङ्क छ ।
तीमध्ये करिब २५ हजार सङ्क्रमित केन्द्रको नियमित सम्पर्कमा रहेको जनाइएको छ । केन्द्रसँग सम्पर्कमा आउने सङ्क्रमितको सङ्ख्या गएको वर्षभन्दा कम छ । उमेर समूहमा सबैभन्दा बढी १५ देखि ४९ वर्षका सङ्क्रमित बढी अर्थात् ३४ हजार भएको तथ्याङ्क छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us