
इन्डोनेसिया–एयरएसियाको हराइरहेको विमानका केही टुक्राहरु समुद्रमा देखिएको बताइएको छ ।
खोजी कार्यमा खटिरहेको इमरजेन्सी समूहका सदस्यले समुद्रमा उक्त विमानका केही भाग र ढोकाजस्तो देखिने सेतो वस्तु भेटिएको बताएका हुन् ।
खोजीकार्य विशेष प्रविधि र अग्रसरताका साथ भइरहेको भन्दै सोमबार उक्त विमानकाजस्ता देखिने केही सेता भाग र टुक्राहरु एरियलबाट देखिएको तर त्यसको फोटो लिन सम्भव नभएको बताएका हुन् ।
उक्त विमान गत आइतबार बिहान इन्डोनेसियाबाट सिङ्गापुरका लागि उडेको थियो । तर उडेको केही बेरपछि नै विमान बेपत्ता भएको थियो ।
मङ्गलबार बिहान गरिएको पत्रकार सम्मेलनमा इन्डोनेसियाली एयर फोर्सका अधिकारीले मध्य कालिमातान प्रदेशको समुद्रमा सो वस्तु भेटिएको पाइएको जानकारी दिए ।
सो जहाजको अन्तिम सम्पर्क विच्छेद भएको स्थान नजिकै ती वस्तु भेटिएकोले उक्त जहाज दुर्घटनाग्रस्त भएको हुनसक्ने अनुमान गरिएको ती अधिकारीले जानकारी दिए ।
उक्त पत्रकार सम्मेलनमा ती अधिकारीले जहाजको ढोकाजस्तो देखिने वस्तु, लाइफ ज्याकेट, इमरजेन्सी स्लाइडजस्ता देखिने वस्तुहरु टाढैबाट लिएको फोटो भन्दै प्रदर्शन गरेका थिए ।
ती वस्तु के हुन् भन्ने बारेमा पत्ता लगाउन एक विशेषज्ञको टोली त्यहाँ पठाइएको र त्यस बारेमा मङ्गलबार सबै स्पष्ट हुने जानकारी उनले दिएका छन् । रासस